प्रमुख प्रतिपक्षी नेकपा (एमाले) को अवरोधपछि २० मिनेटका लागि स्थगित भएको बैठक ४ घन्टा बढी समय बित्दा पनि सुरू हुन सकेको छैन।
संसद सचिवालयले निकालेको पछिल्लो सूचनामा बैठक साँझ ६ बजे बस्ने भनिएको छ तर बैठक बस्ने टुंगो छैन। यसअघि सचिवालयले बैठक ३ बजे बस्ने सूचना निकालेको थियो।
बुधबारको संसद बैठकमा नेकपा (माओवादी केन्द्र) का सांसद लेखनाथ दाहालले एमाले अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री हुँदा ‘पशुपतिमा सुनको जलहरी राख्ने भनेर पित्तलको जलहरी राखी भ्रष्टाचार गरेको’ आरोप लगाएका थिए।
त्यही विषयलाई लिएर एमालेले आज संसद अवरोध गरेको हो।
एमालेले माओवादी सांसदले दिएको अभिव्यक्ति संसदको रेकर्डबाटै हटाउनु पर्ने माग राखेको छ।
सेतोपाटीसँग कुराकानी गर्दै एमाले संसदीय दलका उपनेता सुवास नेम्वाङले पशुपतिमा बनाइएको जलहरी सुनको हो कि पित्तलको भनेर सरकारले प्रमाणित गर्नुपर्ने बताएका छन्। सरकारले छानबिन गरेर सत्य तथ्य रिपोर्ट नल्याएसम्म संसद चल्न नदिने उनले बताए।
आजको संसद बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकारको नीति तथा कार्यक्रममाथि उठेका प्रश्नको जवाफ दिने कार्यक्रम थियो।
प्रकाशित मिति: शुक्रबार, जेठ १२, २०८०, १७:२३:००