जनमत पार्टीका दुई जना सांसदलाई निष्कासनको सिफारिस गरिएको छ।
शुक्रबार बसेको केन्द्रीय समितिको बैठकले प्रतिनिधि सभाका समानुपातिक सांसद सोनु मुर्मु (मोरङ) र विनिता सिंह (सिरहा) लाई कारबाही गर्दै पदबाट हटाउने सिफारिस गरेको एक केन्द्रीय सदस्यले जानकारी दिए।
‘केन्द्रीय कमिटीले सिफारिस गरेको उक्त विषय कारबाहीको प्रक्रियामा गएको छ। अब अनुशासन कमिटीमा उक्त विषय लैजाने र कमिटीले संसदीय दलमा लैजान्छ, ’ ती सदस्यले भने, ‘ त्यसपछि मात्र कारबाही गरिनेछ।’
मुर्मु मोरङकी समानुपातिक सांसद हुन् भने सिंह सिरहाकी सांसद हुन्। स्रोतका अनुसार मुर्मुले श्रीमानलाई स्वकीय सचिव राखेको र सिंहले आफन्तलाई स्वकीय सचिव राखेको, पार्टीका कार्यक्रममा नजाने, जनताका कुरा नसुन्ने, जिल्लाका मान्छेलाई नभेट्ने गुनासो आएको थियो।
आफन्तलाई स्वकीय सचिव राख्न नपाउने पार्टीको नियम छ।
'राइट टु रिकल' अन्तर्गत केन्द्रीय कमिटीमा सुझाव आएको थियो। सोही अनुसार केन्द्रीय कमिटीले कारबाही गर्ने जिम्मा अध्यक्ष सिके राउतलाई दिएको छ।
*यसअघि अन्यथा पर्न गएकोले सच्याइएको छ। -सम्पादक
प्रकाशित मिति: शुक्रबार, जेठ १२, २०८०, १९:५०:००