पूर्वराजा ज्ञानेन्द्र शाहले जनताको भलो नगर्ने व्यवस्था टिकाउ नहुने बताएका छन्।
शनिबार वीरेन्द्रनगरमा आयोजित समारोहमा शाहले जनताले रोजेको खोजेको र सोचेको नहुने व्यवस्था टिकाउ नहुने बताएका हुन्।
'त्यस्ता पद्धती केही समयको बिकाउ मात्रै हुन्छन्, टिकाउको हुँदैन,' उनले भने।
शाहले जुनसुकै व्यवस्था भएपनि देश र जनताको सम्मान र सेवा नै मुख्य रहने बताए।
'लोकतन्त्र, जनतन्त्र, गणतन्त्र, समाजवाद, विज्ञानवाद, भौतिकवाद आदी जेजे शब्द भनेपनि मूल कुरा देश, जनता, समाज, समूदायको सर्वोत्तम सेवा र सम्मान नै हो,' शाहको भनाइ छ।
उनले जनतालाई केन्द्रमा राखेर सुशासन र विकास गर्नु नै विश्वव्यापी प्रचलनमा रहेको आधुनिक प्रजातन्त्रको सही अर्थ रहेको बताए।
तर, व्यवस्था परिवर्तन भएको दुई दशकमै यसमाथि विभिन्न प्रश्नहरू उठेको उनको भनाइ छ।
'हामीले अभ्यास गर्दै आएको विधि व्यवस्था, शासन प्रशासन, के त्यस प्रकारले सहि र सार्थक भएको छ र?,' उनले प्रश्न गरे।
शाहले अब कसरी जाने , के कस्तो विधी व्यवस्था अंगाल्ने र नेपालीको गौरव र गरिमालाई पुन ताजा रुपमा ल्याउने भन्ने कुरामा सोच्नै पर्ने बेला आएको बताए।
'अब सोचौं के गर्दा देशको राम्रो हुन्छ । अब सोचौं के नगर्दा देशलाई फाइदा हुन्छ। राष्ट्रवाद फस्टाउन राष्ट्रप्रेमको खाँचो हुन्छ । नेपालको पीरमर्का बुझ्न नेपाली मुटुले मात्र सक्छ।