पशुपतिनाथमा जलहरी लगाउँदा भ्रष्टाचार भएको विषयमा प्रमुख प्रतिपक्षी दलका नेता केपी शर्मा ओलीलाई जोडेको अभिव्यक्तिलाई अभिलेखबाट हटाउन सभामुख देवराज घिमिरेले संसद सचिवालयलाई निर्देशन दिएका छन्।
नेकपा माओवादी सांसद लेखनाथ दाहालले शुक्रबारको बैठकमा ओली सरकारको पालामा पशुपतिनाथमा जलहरी लगाउँदा भ्रष्टाचार भएको भन्दै आरोप लगाएका थिए। आरोपपछि नेकपा एमालेले आफूहरूमाथि गम्भीर आरोप लागेको र अभिलेखबाट उक्त रेकर्ड नहटाएसम्म आफूहरूले संसद चल्न नदिने अडान लिएको थियो।
त्यससँगै शनिबार बसेको बैठकमा सभामुख घिमिरेले संसद सचिवालयलाई अभिलेखबाट उक्त रेकर्ड हटाउन निर्देशन दिएका हुन्।
त्यसअघि प्रधानमन्त्री पुष्पकाल दाहाल प्रचण्डले पनि यस विषयमा प्रमुख प्रतिपक्षी दलका नेतालाई जोड्नु उचित नहुने बताएका थिए।
उनले रेकर्डबाट हटाउन अनुरोधपछि सभामुख घिमिरेले अभिलेखबाट हटाउन निर्देशन दिएका हुन्।
‘पशुपतिनाथको जलहरीबारे चर्चा उठेको छ। पशुपति क्षेत्रमा काम गर्ने क्षेत्राधिकार पशुपति विकास कोषको हो। काम गरेको विषयमा कुनै विवाद छैन। त्यसमा अख्तियारमा परेको निवेदनमाथि छानविन/अनुसन्धान भइरहेको छ,’ उनले भने,‘आयोगले स्वतन्त्र छानविन गर्ने नै छ। सहयोग रहनेछ। कोषसँग सम्बन्धी विषयमा प्रमुख प्रतिपक्षी नेतालाई जोडेर सदनमा विचार व्यक्त हुनु उचित होइन।’