नेकपा एमालेका सांसद सराज अहमद फारूकीले सरकारले ल्याएको नीति तथा कार्यक्रममा समर्थन नरहेको बताएका छन्।
शनिबार बसेको प्रतिनिधि सभा बैठकको नीति तथा कार्यक्रममाथिको छलफल कार्यक्रममा बोल्दै उनले समाजवादको पक्षधर नेताहरूले ल्याएको कार्यक्रममा मौलिक अधिकारलाई ध्यानमा नराखेको बताए।
‘सरकारको नेतृत्व गर्ने नेता समाजवादको पक्षधर हुने गरेको दावा गर्नुहुन्छ। तर यो नीति तथा कार्यक्रममा कहीँ कतै झल्किएन,’ उनले भने, ‘देशको सूचांकमा सबैभन्दा कमजोर र पिछडिएका समुदायको शिक्षा, स्वास्थ्य तथा संविधानमा दिएको मौलिक अधिकारलाई ध्यान नदिएको खालको नीति तथा कार्यक्रम ल्याइएको छ। यस्तोमा म नीति तथा कार्यक्रमको समर्थन गर्न सक्दिनँ।’
यस्तै कार्यक्रममा युवाहरूको विदेश पलायनलाई रोक्ने कुनै पनि ठोस योजना नभएको उनको भनाई थियो। किसान, विद्यार्थीका लागि गुणस्तरीय शिक्षा, रोजगारी, व्यवसायका लागि पनि कुनै ठोस योजना नबनेकाले पनि आफ्नो समर्थन नभएको उनले बताए।