प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आसन्न भारत भ्रमणमा नयाँ ‘एयर रुट’ प्राप्त गर्ने प्रवल सम्भावना रहेको बताएका छन्।
शनिबार प्रतिनिधिसभाको बैठकमा आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममाथि उठेका प्रश्नको जवाफ दिने क्रममा प्रधानमन्त्री दाहालले भारत भ्रमणमा ‘ट्रेड ट्रान्जिट’बारे छलफल हुने बताए।
छलफलका क्रममा सांसदहरूले प्रधानमन्त्रीको भारत भ्रमणमा सीमा समस्या र १९५० को सन्धीबारे के हुन्छ भनि प्रश्न गरेका थिए।
जवाफमा प्रधानमन्त्री प्रचण्डले १९५० काे सन्धीलगायत अन्य विषय पनि उठाउने र वार्तामार्फत समाधान खोजिने प्रयास हुने सदनलाई जानकारी गराए।
त्यस्तै रासायनिक मल खोल्ने विषय पनि सरकारको प्राथमिकतामा रहेको प्रधानमन्त्रीले जानकारी गराए। भारत भ्रमणमा नेपालमा मल कारखाना खोल्ने विषयमा पनि ठोस कदम चालिने उनले बताए।
प्रधानमन्त्री प्रचण्ड जेठ १७ गते चार दिने भ्रमणका लागि भारत जाँदैछन्। उनले १८ गते भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग भेटवार्ता गर्ने कार्यतालिका छ।
प्रधानमन्त्रीले आफ्नो भारत भ्रमण नेपाल र नेपाली जनताको पक्षमा नयाँ रेकर्ड बन्ने बताएका छन्।