सञ्चार, सूचना तथा प्रविधि मन्त्री रेखा शर्माले व्यक्तिले गरेका गल्तीको दोष प्रणालीलाई दिइनु गलत भएको बताएकी छन्।
सामुदायिक सूचना नेटवर्क (सिआइएन)को १५ औं स्थापना दिवसको अवसरमा काठमाडौंमा आइतबार भएको कार्यक्रममा बोल्दै उनले पदमा पुगेका केही व्यक्तिले गरेका गैरकानुनी कामलाई लिएर सिङ्गो गणतन्त्रलाई नै बदनाम गराउने गरिएकोप्रति असहमति जनाएकी हुन्।
सरकार सञ्चालनका क्रममा गल्ती कमजोरी गर्नेलाई कानुन अनुसार कारबाही गर्ने अवसर पनि गणतन्त्रमा रहेको भन्दै उनले उनीहरूलाई कारबाही गर्न सबै एकै ठाउँ उभिनुपर्ने बताइन्।
प्रविधिको विकासलगायत कारणले रेडियो, टेलिभिजन र छापा माध्यमकै भविष्यप्रति संशय उत्पन्न हुने गरेको भन्दै नागरिकका समस्याको उठान गर्ने र गुणस्तरीय सामाग्री उत्पादन गर्न सके रेडियो, टेलिभिजन र छापा माध्यमको भविष्य सधैँ उज्यालो रहेको उनले बताइन्।
कार्यक्रममा सामुदायिक रेडियो प्रसारक सङ्घ (अकोराब)का अध्यक्ष अर्जुन गिरीले ग्रामीण तहमा रहेका रेडियो जोगाउन आवश्यक रहेको बताए।
विपद्का बेला रेडियो समुदायको सबैभन्दा नजिकको साथी भए पनि सरकारका विभिन्न नीतिलगायत धेरै कारणले मारमा परिरहेको उनले बताए। सामुदायिक रेडियो बचाउन तीनै तहका सरकारले आवश्यक सहयोग गर्नुपर्ने उनको भनाइ छ।
साथै राष्ट्रिय सभाको दीगो विकास तथा सुशासन समितिका सभापति प्रकाश पन्थले पछाडि रहेका व्यक्ति वा समुदायको कुरा बाहिर ल्याउँदा नै सुशासन कायम गर्न सकिने भन्दै लुकेका कुरा बाहिर ल्याउँदा सरकार जिम्मेवार बन्ने बताए।
सरकार, संसद्, सरोकारवाला र सञ्चारलाई सँगै लिएर अघि बढ्न सके सामूहिक रूपमा सुशासन प्रवर्धन हुने उनको भनाइ छ।
दलित आयोगका अध्यक्ष देवराज विश्वकर्माले दलित समुदायको मूल प्रवाहिकरणका लागि सरकारले अझै पनि प्रभावकारी कार्यक्रम ल्याउन नसकेको र ल्याएका कार्यक्रमको कार्यान्वयन हुन नसकिरहेको तर्फ ध्यानाकर्षण गराउँदै यसमा सञ्चार माध्यमले खबरदारी गर्नुपर्ने बताए।
राष्ट्रिय सूचना आयोगका प्रमुख आयुक्त महेन्द्रमान गुरुङले सिआइएनले खास गरी दूर दराजको समुदायलाई सूचना र सञ्चारको क्षेत्रमा महत्त्वपूर्ण योगदान गरिरहेकोमा धन्यवाद दिँदै आयोग र सिआइएनबीच सहकार्य गरेर अघि बढ्न सकिने बताए।
वरिष्ठ अधिवक्ता चन्द्रकान्त ज्ञवालीले छापाखाना वा सूचना सञ्चार माध्यमले पनि व्यक्तिको गोपनीयताको हकको ख्याल गर्दै सूचना सम्प्रेषण गर्नुपर्नेमा जोड दिए।
पत्रकार महासंघका अध्यक्ष विपुल पोखरेलले अप्ठ्यारो बेलामा रेडियोबाट आउने सामग्री औषधिको रूपमा आउने भएकाले औषधि जोगाउन आवश्यक रहेको बताए। सङ्कटको साथी रेडियो भएकाले यसको व्यवस्थापनमा जुट्न सबैसँग उनले आग्रह गरेका थिए।
अकोराबका पूर्व अध्यक्ष मीनबहादुर शाहीले १९ वटा रेडियो आबद्ध भएर सुरू गरेको सिआइएन दक्षिण एसियाकै सबैभन्दा ठूलो रेडियो नेटवर्क बन्न सकेको र समुदायको आवाज मुखरित गर्न सफल भएकोमा प्रशंसा गर्दै पहरेदारको भूमिकामा सधैँ खटिइरहन सुझाव दिएका थिए।
स्थापना दिवसको अवसरमा सिआइएनकर्मी सुनिल राजभारत, रेडियो खुला आकाश जुम्लाका मानबहादुर कुँवर र रेडियो मध्यपश्चिम दाङका सुशीला ओलीलाई पुरस्कृतसमेत गरिएको थियो।