पूर्वप्रहरी कर्मचारी संगठन सुनसरीले इनरूवामा राष्ट्रपति र प्रधानमन्त्रीको पुत्ला दहन गरेको छ।
जन्मकैद सजाय भोगिरहेका रेशम चौधरीलाई गणतन्त्र दिवसको अवसर पारेर सरकारले आम माफी दिएको भन्दै इनरूवा बस चोकमा उनीहरूले राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानमन्त्री पुष्पकमल दाहालको पुत्ला दहन गरेका हुन्।
प्रहरी उच्च अधिकारी सहितको हत्यामा जन्मकैद भोगिरहेका व्यक्तिलाई माफी दिनुले प्रहरी कर्मचारी र परिवारको मान सम्मानमा चोट पुगेको पूर्वप्रहरी कर्मचारी पहलबहादुर कटवालले बताए।
पुत्ला दहन कार्यक्रममा प्रदर्शनकारीले नेपाल सरकारको सिफारिसमा रेशम चौधरीलाई राष्ट्रपतिले आम माफी दिनु मुलुकको कानूनी राज्यप्रतिको उपहास भएको बताए।
उनीहरूले सरकारप्रति जनताको विश्वास गुम्दै गएको समेत बताए।
पूर्वप्रहरी कर्मचारी संगठनको अगुवाइमा आयोजित पुत्ला दहन कार्यक्रममा स्थानीयहरूले समेत सहभागिता जनाएका थिए।