कोशी प्रदेशमा चर्केको पहिचानवादी आन्दोलनले कोशी नामका पक्षमै मतदान गरेका दलहरूलाई पनि तीव्र दबाबमा पारेको छ।
यही क्रममा कोशी प्रदेशका पक्षमा मतदान गरेको कोशीको मुख्य विपक्षी दल नेपाली कांग्रेसका प्रदेशका १४ वटै जिल्लाका सभापतिहरूले बुधबार संयुक्त विज्ञप्ति निकालेर नाममा पुर्नविचार गर्न माग गरेका छन्।
प्रदेशका १४ जनै जिल्ला सभापतिहरूले विज्ञप्तिमार्फत पहिचानवादी आन्दोलनप्रति दमनमा नउत्रन माग गरेका छन्। फागुन १७ मा कोशी प्रदेश सभाले प्रदेशको नामकरण गरेको थियो। त्यसपछि प्रदेशमा पहिचानको पक्षमा आन्दोलन उठेको थियो।
‘प्रदेशसभाले कोशी नाम राखेपछि जनताको ठूलो तप्काले अहिले विरोध गरिरहेको छ’, सभापतिहरूले विज्ञप्तिमा भनेका छन्, ‘यो विरोधको सुनुवाई नेपाली कांग्रेसको नेतृत्वले गर्नुपर्छ भन्ने हाम्रो धारणा छ।’
बिपीकै पालादेखि कांग्रेस समावेशीकरण र पहिचानको पक्षमा उभिएको बताउँदै सभापतिहरूले भनेका छन्, ‘अहिले प्रदेशमा भइरहेको आन्दोलन र कोशी नाम सम्बन्धमा पार्टीको प्रदेश तथा केन्द्रको नेतृत्वले साहसिक निर्णय लिनुपर्ने आवश्यकता हामीले देखेका छौं।’
