नेकपा (एमाले)ले सचिवालय बैठक बोलाएको छ।
पार्टी मुख्यालय च्यासल, ललितपुरमा शुक्रबार बिहान साढे ११ बजे सचिवालय बैठक बोलाइएको एमाले प्रचार विभाग प्रमुख तथा उपमहासचिव पृथ्वी सुब्बा गुरूङले जानकारी दिए।
‘समसामयिक विषयमा छलफल गर्न र पार्टीको धारणा तय गर्न तथा केन्द्रीय सदस्यहरूको कार्यविभाजन गर्न बैठक बोलाइएको हो,’ उनले सेतोपाटीसँग भने
वैशाख २८ गतेदेखि ३० गतेसम्म बसेको पार्टी केन्द्रीय कमिटीको बैठकले आफ्नो जिम्मेवारीमा रहेको भूगोलभन्दा फरक जिल्लामा काममा खटाउने निर्णय गरेको थियो।
गत फागुनदेखि वैशाखसम्म चलेको ‘मिसन ग्रासरूट’ अभियान प्रभारकारी भएकाले थप एक वर्षसम्म केन्द्रीय सदस्यहरूलाई त्यसरी परिचालन गर्ने केन्द्रीय कमिटीको निष्कर्ष थियो।
केन्द्रीय कमिटीको त्यही निष्कर्षअनुरूप नयाँ कार्यविभाज गर्न लागिएको पोलिट्ब्युरो सदस्य सूर्य थापाले जानकारी दिए।
उनका अनुसार सचिवालयको बैठकले जिल्लाका इन्चार्ज र सहइन्चार्जहरू पनि फेर्नेछ।
नेकपा (एमाले)मा १९ सदस्यीय सचिवालय छ। त्यसमध्ये सचिव टोपबहादुर रायमाझी नक्कली भुटानी शरणार्थी प्रकरणका कारण निलम्बनमा छन्।