भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले बैतडीको झुलाघाट नाकामा दुई वटा पक्की पुल बनाउने घोषणा गरेका छन्।
प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड' र भारतीय समकक्षी नरेन्द्र मोदीबीच दिल्लीको हैदरावाद हाउसमा भएको कार्यक्रमका क्रममा मोदीले नेपाल र भारतका नागरिकको सहजताका लागि झुलाघाट नाकामा दुई वटा पुल बनाउने बताएका हुन्।
मोदीले महाकाली नदीमाथि झुलाघाट र सिर्सामा पक्की पुल बनाउने बताए।
यसअघि बैतडीका नागरिकहरुले भारत भ्रमणमा झुलाघाटमा मोटरेवल पुल निर्माणका लागि भारतसँग प्रधानमन्त्रीले छलफल गर्नुपर्ने माग गरेका थिए।
पुरानो नाकाको रूपमा रहेको झुलाघाटमा मोटरेवल पुल नहुँदा समस्या झेलिरहेकाले प्रधानमन्त्रीले भारतीय समकक्षीसँगको वार्तामा यो विषयलाई प्राथमिकता दिनुपर्ने त्यस क्षेत्रका नागरिकले माग गरेका थिए।
झुलाघाट नाकामा करिब २ सय वर्ष अघि निर्माण भएको झोलुंगे पुलबाट आवतजावत गर्ने गरिएको छ। यो नाकामा मोटरेवल पुल निर्माणका लागि नेपाली मात्रै नभएर सीमावर्ती भारतीय नागरिकले समेत माग गर्दै आएका छन्।
नेपाल र भारतमा सीमा क्षेत्रका नागरिकहरूबीच पारिवारिक, सांस्कृतिक, सामाजिक र व्यपारिक सम्बन्ध रहेकाले यो नाकामा पुल अनिवार्य रहेको स्थानीयहरूको भनाइ छ।