नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले पार्टीभित्रका सबै गुटहरूलाई भत्काउनुपर्ने बताएका छन्।
बिहीबार नेपाल छापाखाना तथा सञ्चारसम्वद्ध श्रमिक संघको आयोजनामा काठमाडौंमा भएको ‘आजको राजनीतिक अवस्था र ट्रेड युनियन’ विषयक विचार गोष्ठीमा बोल्दै महामन्त्री थापाले कांग्रेस पुर्ननिर्माणका निम्ति सबै गुटहरूलाई भत्काउनु पर्ने बताएका हुन्।
कांग्रेसलाई सुधार्नका लागि सबै गुटहरू भत्काउनु आवश्यक रहेको उनले बताए। कांग्रेसभित्र अब परिवर्तन चाहने र परिवर्तन रोक्नेहरूबीच दुई गुटमात्रै बनाउनु पर्ने उल्लेख गर्दै उनले विगतका जो कोही दाइहरूको साथ छोड्न आग्रह गरे।
‘पार्टीले भविष्यप्रति आशावादी बनायो भने मान्छे आउँछ। कुशासन, बेथिति, भ्रष्टाचार छ। नेपाली कांग्रेसले कुशासन, बेथिति, भ्रष्टाचार म हटाउँछु र तिमीलाई आजभन्दा भोलि राम्रो बनाउँछु। राम्रो अवसर दिन्छु भनेर आश्वस्त पार्नसक्यो भने यो पार्टीको घर भरिन्छ। नयाँ मान्छे आउँछन्,’ थापाले भने,‘अहिले कांग्रेसमा जम्मा दुई वटा गुट छन्। एउटा गुट कांग्रेसमा परिवर्तन चाहने अर्को परिवर्तन रोक्ने गुट। यो दाइ, त्यो दाइ सबै छोडिदिनुहोस्। हिजो को दाइसँग को लाग्यो सब बिर्सौं अब।’
महामन्त्री थापाले नागरिकहरू कुशासन, भ्रष्टाचार र बेथितिका कुराहरूबाट आजित रहेको उल्लेख गर्दै कांग्रेसले यी तीन कुराहरूलाई हटाउँछ भन्ने विश्वास दिलाउन सक्नुपर्ने बताए।
उनले कांग्रेसले मानिसहरूलाई भविष्यप्रति आश्वस्त पार्न सकेमा मात्रै नयाँ मानिस पार्टीमा आउने बताए। उनले कांग्रेसको पुनर्निर्माण सम्भव भएको बताए।