प्रतिनिधि सभाको बैठक सोमबार बिहान ११ बजे बस्ने भएको छ।
आज (आइतबार)को बैठक नेकपा (एमाले)लगायत प्रतिपक्षी दलहरूको विरोधका कारण अवरूद्ध हुन पुगेको थियो।
नागरिकता प्रमाणीकरण, रेशम चौधरीलाई आममाफी र लिपुलेक–लिम्पियाधुरासहितको भूभाग बंगलादेशको फूलबारी बन्दरगाहसम्म पुग्ने बाटोसँग साटफेर गर्न सकिने भनेर प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले दिएको अभिव्यक्तिलाई लिएर विपक्षी दलहरूले सदन अवरूद्ध तुल्याएका थिए।
एमाले, राष्ट्रिय स्वतन्त्र पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीले नागरिकता प्रमाणीकरण नसच्याएसम्म सदन चल्न नदिने बताएपछि बैठक एक घण्टाका लागि स्थगित गरिएको थियो। आज बिहान ११ बजे बोलाइएको बैठक प्रतिपक्षी दलहरूकै कारण एक घण्टा ढिलो बसेको थियो।
संसद् सचिवालयले सोमबार बिहान ११ बजे बैठक बस्ने सूचना प्रकाशित गरेको छ। प्रतिनिधि सभाको आजको बैठकमा बजेटमाथि छलफल सुरू गर्ने कार्यसूची रहेको थियो।