नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरीले आफू जेलबाट छुटिसकेको हुँदा पार्टीले अर्को निर्वाचनमा धेरै सिट जित्ने दाबी गरेका छन्।
आइतबार दाङको तुलसीपुरस्थित विष्णु चलचित्र मन्दिरको प्राङ्गणमा आयोजित कार्यक्रममा बोल्दै उनले २०८४ सालमा हुने निर्वाचनमा थप सिट जित्ने दाबी गरेका हुन्।
‘कसैलाई भनेर/नभनेर रक्सी मासु खाएर अरू पार्टी छोड्न नसके पनि थोरै साथीहरूले भोट हाल्दा त हामीले आज १६ सिट जितेका छौं,’ उनले भने, ‘अब त बाघ छुटिसक्यो के हुन्छ, के हुन्छ।’
आगामी निर्वाचनमा एक सय सिट जित्ने सपना रहेको पनि उनले उल्लेख गरे।
‘अब मलाई लाग्छ यो ढकियालाई कसैले हराउने छैन,’ ढकिया उठाउँदै उनले भने, ‘किनकी दाङ पनि एउटा थारू पहिचानको जिल्ला हो।’
कैलालीमा २०७२ सालमा एक नाबालकसहित आठ सुरक्षाकर्मीको हत्याको घटनामा आफूहरूको संलग्नता नरहेको उनले जिकिर गरे।
‘कैलाली घटनामा हामीले मानिसहरूको मारेका होइनौं। मान्छे कसले मारेको हो र मान्छे मार्नेहरूलाई खोजेर सार्वजनिक गर् भनिरहेका छौं,’ उनले भने ‘टीकापुर घटना कुनै गुफा वा कोठा भित्र भएको घटना थिएन त्यो ३०-४० हजार मानिसका आँखाले देखेको घटना हो।’
हत्या गर्ने व्यक्तिहरूको पहिचान गरी जेलमा हाल्नुपर्ने पनि उनले माग गरेका थिए। त्यस घटनामा आफूलाई मुछेर अन्याय भएको पनि उनले सुनाए।