संसद् चलाउनेबारे सहमति जुट्न नसकेपछि प्रतिनिधि सभा बैठक साढे १ बजेलाई सरेको छ।
करको दर हेरफेरबारे प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)लगायत विपक्षी दलले विरोध जनाउने भएपछि सभामुख देवराज घिमिरेले प्रमुख सचेतक र सचेतकहरूसँग छलफल गरेका थिए।
‘बैठक सञ्चालन गर्ने सहमति भएको थियो। एमाले र राप्रपाले बोल्ने त्यसपछि अर्थमन्त्रीले जवाफ दिने सहमति भएको हो। तर प्रमुख विपक्षी दलको नेताले अर्थमन्त्रीसँग म कुरा गर्छु भनेपछि बैठक बस्ने सहमति हुन सकेन,’ जसपाका प्रमुख सचेतक प्रदीप यादवले भने।
बजेटमा करको दर हेरफेरमा पूर्वनासु रामकृष्ण श्रेष्ठ प्रवेश गराएको भन्दै सोमबारको संसद बैठकमा राप्रपाका सचेतक ज्ञानबहादुर शाहीले प्रश्न उठाएका थिए।
आज पनि एमाले, रास्वपा र राप्रपाले विरोध गर्ने भएपछि ११ बजे बोलाइएको बैठक बस्न नसकेको हो।
प्रतिनिधि सभामा सोमबारदेखि बजेटमाथि छलफल सुरू भएको छ।
आर्थिक वर्ष २०८०/०८१ को बजेट निर्माणका क्रममा करका दर हेरफेर गर्न पूर्वनायब सुब्बा रामकृष्ण श्रेष्ठलाई संलग्न भएको भन्दै सांसदहरूले विरोध गरेका हुन्।
भन्सार विभागका पूर्वकर्मचारी श्रेष्ठले भने आफूले वर्षौंदेखि बजेट निर्माणमा बेला टाइपको काम गर्दै आएको बताएका छन्।