नेकपा एमालेले केन्द्रीय सदस्यहरूको जिम्मेवारी हेरफेर गरेको छ।
गत जेठ १९ गतेको सचिवालय बैठकले गरेको कार्यसम्पादन हेरफेर अन्तरपार्टी निर्देशनमार्फत तल पठाएको हो।
एमालेले प्रदीप ज्ञवालीलाई पार्टी स्कुल विभागको जिम्मेवारी दिएको छ। पृथ्वी सुब्बा गुरूङ संसदीय विभाग प्रमुख तोकिएका छन्। यसअघि उनी प्रचार विभाग प्रमुखको जिम्मेवारीमा थिए।
यस्तै एमालेले विष्णु रिमाललाई निर्वाचन विभाग र वित्त तथा कोष व्यवस्थापन दुई वटा विभागको जिम्मेवारी दिएको छ।
भीम आचार्यले पर्यटन तथा नागरिक उड्डयन विभागको प्रमुख पाएका छन् भने किरण गुरूङ संघीय मामिला तथा सामान्य प्रशासन विभागको नेतृत्व पाएका छन्।
रघुजी पन्तले संस्कृति विभाग प्रमुख र जनसांस्कृतिक फाँटको इन्चार्ज पाएका छन्।
भानुभक्त ढकालले जनसंगठन समन्वय संयन्त्रको संयोजक पाउँदा कृष्णगोपाल श्रेष्ठ स्वास्थ्य तथा जनसंख्या विभागको प्रमुख बनाइएका छन्।
काशिनाथ अधिकारीले संगठन विभाग र राजेन्द्र गौतमले प्रचार विभाग प्रमुखको जिम्मेवारी पाएका छन्।
एमालेले ४३ वटा विभाग बनाएर त्यसको संयोजनको जिम्मा ७ जना उपाध्यक्षलाई दिएको छ ।
सात उपाध्यक्षले कुन-कुन विभागको जिम्मेवारी पाए?
एमालेमा ३२ वटा विषयगत विभागहरू छन्। पार्टीका सात जना उपाध्यक्षलाई विषयमिल्दो हिसाबले विभागहरूको कामको संयोजनको जिम्मेवारी दिइएको छ।
योजना र नीतिसँग जोडिएका कामहरूको नेतृत्व वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले गर्नेछन्। पूर्वाधार विकास र निर्माणसँग जोडिएका विभागहरूको कामको नेतृत्व सुरेन्द्र पाण्डेले गर्नेगरी जिम्मेवारी तोकिएको छ।
कृषि तथा उद्यमशीलतासँग जोडिएका विभागहरूको कामको संयोजन रामबहादुर थापा बादलले गर्नेछन्।
सामाजिक विकाससँग गाँसिएका विभागको कामको संयोजन अष्टलक्ष्मी शाक्यले गर्ने गरी जिम्मेवारी दिइएको छ।
मानव स्रोतसँग जोडिएका विभागहरूको संयोजन गर्ने जिम्मा युवराज ज्ञवालीले पाएका छन्। सुशासन र सेवा प्रवाहसँग जोडिएका विभागहरूको कामको नेतृत्व सुवास नेम्वाङले गर्नेछन्।
संगठन, प्रशिक्षण र प्रचारसँग जोडिएका विभागहरूको कामको संयोजन विष्णु पौडेलले गर्ने गरी जिम्मेवारी बाँडफाँट गरिएको छ।
प्रदेश इन्चार्ज हेरफेर, कहाँ कसको जिम्मेवारी?
नयाँ कार्यविभाजन अनुसार सुदूरपश्चिम प्रदेशको इन्चार्ज छविलाल विश्वकर्मा तोकिएका छन्। कर्णाली प्रदेशको इन्चार्ज लेखराज भट्टलाई बनाइएको छ।
त्यस्तै लुम्बिनी प्रदेशको इन्चार्ज पद्मा अर्याल चयन भएकी छन्। गण्डकीको इन्चार्ज गोकर्ण विष्ट, मधेश प्रदेशको इन्चार्ज योगेश भट्टराई बनेका छन्।
कोशी प्रदेशको इन्चार्ज रघुवीर महासेठ बनेका छन्। बागमती प्रदेश भने केन्द्रीय कार्यालयले नै विशेष खालको संयोजन गर्ने पार्टीले जनाएको छ।
स्थायी कमिटी सदस्य, पोलिटब्युरोलाई जिल्लाको इन्चार्ज तोकिएको छ। केन्द्रीय सदस्यहरूलाई महानगर, उपमहानगर, नगर र गाउँपालिकाहरूको इन्चार्जको जिम्मेवारी दिइएको छ।