प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका सांसद गोकुल बाँस्कोटाले विकासको मानक केपी ओलीबाहेक अरू प्रधानमन्त्री नभएको बताएका छन्।
'विकास कस्तो हुन्छ, स्वाधीनता कस्तो हुन्छ, राष्ट्रिय पुनः निर्माणको अभियान कस्तो हुन्छ भन्ने कुराको मानक केपी ओलीबाहेक अरू कुनै प्रधानमन्त्री भएनन्,होइनन्,' प्रतिनिधि सभामा बजेटमाथिको छलफलमा बोल्दै बाँस्कोटाले भने।
उनले वर्तमान सरकारले ल्याएको बजेटमा आफ्ना दलका नेता ओलीले गरेका टिप्पणीहरू सबै ग्रहण गरी परिमार्जन गरेर ल्याइए समर्थन गर्ने समेत बताए।
'त्यही केपी ओली सरकारले अगाडि सारेका सम्पूर्ण कृषी क्षेत्रका, पर्यटन, शिक्षा,स्वास्थ्य र विदेश सम्बन्धका सम्पूर्ण कुराहरूलाई बजेटमा प्रेसित गरेर आउनुस् र त्यसलाई समृद्ध बनाउनुस्। दुई हात उठाएर ताली पनि ठोक्छौं। नाचौँला पनि,' उनले भने।
बाँस्कोटाले संसदमा प्रतिपक्षी दलका नेताले बोलेको कुरा सत्तापक्षले सुन्ने धैर्यता राख्नुपर्ने बताए।
'यति घन्टा बोल्यो, सुझाव दिएन, आलोचना गर्यो भनिएको छ। जम्मै खारेज गर्न जरूरी छ, त्यसैले उहाँले दिएको सबै टिप्पणी ग्रहण गर्नुस्,' बाँस्कोटाले भने, 'कान खोलेर सुन्नुस् ती सबै सुझाव हुन्। कि कानको अपरेशन गर्न जानुस्। होइन, सुन्ने धैर्यता सत्तापक्षसँग छैन भने छलफल चलाउनुको के अर्थ?'