नेपाल समाजवादी पार्टीको केन्द्रीय समितिको बैठक जारी छ।
भक्तपुरको लोकन्थलीमा शुक्रबार बिहानैदेखि बैठक सुरू भएको नेसपाका राजनीतिक समितिका सदस्य विश्वदीप पाण्डेले जानकारी दिए।
बैठकको दोस्रो दिन आज पार्टीका अध्यक्ष बाबुराम भट्टराईले पेस गरेको राजनीतिक प्रतिवेदनमाथि छलफल सुरू भएको छ।
पाण्डेका अनुसार ८ वटा समूह बनाएर अध्यक्षको प्रतिवेदनमाथि छलफल भइरहेको छ। छलफलका लागि कोशी प्रदेश, मधेश, गण्डकी र लुम्बिनी प्रदेशको एक-एक समूह बनाइएको छ।
बागमतीको दुई समूह र कर्णाली र सुदूरपश्चिमलाई एउटै समूह बनाइएको छ। त्यस्तै प्रवास र गैरभौगोलिकलाई पनि एउटै समूह बनाएर छलफल गरिएको पाण्डेले जानकारी दिए।
समूहगत छलफलपछि सदस्यहरूले उठाएका प्रश्नहरूको जवाफ अध्यक्षले दिनेछन्। त्यसपछि निर्णयहरू गर्दै बैठक आजै सकिने पाण्डेले जानकारी दिए।