नेपाली कांग्रेसका सांसद राजेन्द्र बजगाईले बूढीगण्डकी जलविद्युत आयोजना शिलान्यास गर्न सरकारसँग माग गरेका छन्।
प्रतिनिधि सभाको शुक्रबारको बैठकमा बोल्दै सांसद बजगाईले आयोजना शिलान्यास गर्नुपर्ने बताए।
‘बूढीगण्डकी आयोजना शिलान्यास गरियोस् भन्ने सरकारसँग माग गर्दछु,’ उनले भने, ‘प्रधानमन्त्रीले पनि यसबारे धेरैपटक बोल्नुभएको छ, फेरि ध्यानाकर्षण गराउन चाहन्छु।’
गोरखा र धादिङको सीमा भई बगेको बूढीगण्डकीमा १ हजार २ सय मेगावाट क्षमताको जलविद्युत आयोजना बनाउन मुआब्जा वितरण लगायतका काम भइरहे पनि आयोजना निर्माण सुरू हुन सकेको छैन।
फरक प्रसंगमा उनले क्षेत्र विकास कोष आवश्यक पर्ने बताए। ‘शहरिया सांसदलाई यो आवश्यक नहुन सक्छ,’ उनले भने, ‘सांसद विकास कोष अहिले क्षेत्र विकास कोषमा रुपान्तरित छ। यसमा सांसदको तजबिजी चल्ने छैन।’