प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले वर्तमान सरकारले देश र जनताको हितमा एकपछि अर्को काम गर्न थालेपछि भ्रष्टहरू अत्तालिन थालेको बताएका छन्।
शनिबार दिउँसो नुवाकोटको लाकुरी भञ्ज्याङमा पञ्चकन्या गाउँपालिकाको प्रशासनिक भवनको उद्घाटन गर्दै प्रधानमन्त्रीले वर्तमान सरकारले देश र जनताको हितलाई केन्द्रमा राखेर काम गरेपछि भ्रष्टहरू अत्तालिएको र विरोधका लागि विरोधको राजनीति गरेको बताएका हुन्।
‘सिंहदरबारलाई जनताको घरदैलोमा ल्याउन हामीले ठूलो संघर्ष गर्यौं। त्यसको बलमा मात्र सिंहदरबार गाउँघरमा आएको हो, यसले स्थानीय क्षेत्रको विकास र जनताको जीवनमा सकारात्मक परिवर्तन ल्याएको छ’ उनले भने, ‘तर एउटा वर्गलाई यो कुरा मन परेको छैन। यसलाई फेरि फर्काएर सिंहदरबारमा के गरी लैजाने होला भन्नेहरू पनि छन्। सरकारले एकपछि अर्को राम्रो काम गरेपछि भ्रष्ट तत्वहरू अत्तालिएका छन्।’
विकासको राजनीतिमा पूर्वाग्रह राख्न नहुने र विकास गर्न राजनीतिक सहमति र राष्ट्रिय संकल्प चाहिने पनि उनले बताएर आफूहरूले अर्थतन्त्रको चुनौतीबीच पनि नीति तथा कार्यक्रम र बजेट सन्तुलन मिलाएर ल्याएको उनले बताए।
‘अर्थतन्त्रको चुनौतीका बीच पनि नीति, कार्यक्रम र बजेटमा अधिकतम सन्तुलन मिलाएका छौ। कृषिलाई उच्च प्राथमिकता दिएका छौं, उत्पादन र उत्पादकत्व प्रवर्धन गर्ने नीति लिएका छौं,’ उनले भने, ‘उत्पादनले नै रोजगारी सृष्टिको ऐतिहासिक पहलको वातावरण बन्छ। कृषिको अनुदान सिधै किसानको हातमा दिने व्यवस्था गर्छौं। यतातर्फ सरकारको ध्यान गएको छ।