राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना चीन जाने भएका छन्।
उनी शनिबार मध्यराति औपचारिक कार्यक्रमको लागि चीनतर्फ प्रस्थान गरेका हुन्।
तिब्बतको ल्हासामा आयोजना हुने पाँचौ चाइना तिब्बत पर्यटन तथा संस्कृति एक्स्पोमा सहभागी हुन ९ सदस्यीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै उनी चीन जान लागेका हुन्।
राति १२:५ को साउर्दन एयरलाइन्सको उडानबाट ग्वाञ्झाओ हुँदै बेइजिङतर्फ प्रस्थान गर्ने कार्यक्रम छ।
तिब्बतमा जुन १६ र १७ मा आयोजना हुने एक्स्पोलाई अध्यक्ष तिमिल्सिनाले प्रमुख अतिथिको रुपमा सम्बोधन गर्नेछन्।
उक्त प्रतिनिधिमण्डलमा प्रतिनिधि सभाका सदस्यहरू जीवन परियार, धवल शमशेर जंगबहादुर राणा, प्रदिप यादव तथा राष्ट्रिय सभाका सदस्यहरू उदयबहादुर बोहरा, दिपा गुरुङ र हरिराम चौधरी एवं अध्यक्ष तिमिल्सिनाका प्रमुख स्वकीय सचिव गोविन्द अकेला पौडेल र संघीय संसद सचिवालयका उपसचिव रामहरि थापा सहभागी छन्।
भ्रमणका क्रममा बेइजिङमा अध्यक्ष तिमिल्सिनाले बेइजिङमा चीनको राष्ट्रिय जन कांग्रेसको स्थायी समिति (स्टाण्डिङ कमिटी अफ द नेशनल पिपुल्स कंग्रेस) का अध्यक्ष चाओ लिजी, चिनियाँ जन राजनीतिक परामर्शदात्री सम्मेलन (चाइनिज पिपुल्स पोलिटिकल कन्सुल्टेटिभ कन्फरेन्स) का अध्यक्ष वाङ हुनिङ संग भेट र द्विपक्षीय वार्ता गर्ने कार्यक्रम छ।
भ्रमणको क्रममा प्रतिनिधिमण्डलले बेइजिङमा बाइदु ग्रुप, स्टेट ग्रिड कर्पोरेसन, संघाईमा साईयाक भोल्क्स्वाजेन न्यु इनर्जी उद्योग, सांघाई योजना प्रर्दशनी केन्द्र लगायतका स्थलहरूको अवलोकन भ्रमण गर्ने कार्यक्रम छ। औपचारिक भ्रमण सम्पन्न गरी अध्यक्ष तिमिल्सिना नेतृत्वको प्रतिनिधिमण्डल २१ जुन २०२३ मा नेपाल आइपुग्ने कार्यक्रम रहेको संघीय संसद सचिवालयका प्रवक्ता एकराम गिरीले जानकारी दिए।