नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले वर्तमान सत्ता गठबन्धनको सरकार ढल्ने आशय व्यक्त गरेका छन्।
आइतबार प्रतिनिधि सभाको बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले सत्ता गठबन्धन ५ वर्षै चलाउनुपर्ने र त्यसका लागि प्रयास गर्ने भए पनि बजेट यथास्थितिमा पास भए सरकार ढल्ने आशंका व्यक्त गरेका हुन्।
उनले बजेटमा सबैजना असन्तुष्ट रहेको उल्लेख गर्दै प्रधानमन्त्री र अर्थमन्त्रीको लचकता नदेखाए सरकार दुर्घटनामा जाने चेतावनी दिए।
उनले बजेट तीन जिल्ला (गोरखा, डडेल्धुरा र नुवाकोट) केन्द्रित भएको बताउँदै आएका छन्। साथै पार्टीले पनि बजेट यथास्थितिमा पास गर्न नदिने अडान लिइरहेको छ। यद्यपि नेकपा (एकीकृत समाजवादी) दुई मन्त्रालयसहित सरकारमा सहभागी छ। सत्तापक्षकै सांसदहरूले बजेट आवश्यकताअनुसारको नभएको टिप्पणी गर्दै आइरहेका छन्। सत्तापक्षकै सांसदहरू बजेटमा असन्तुष्टि देखिनु र प्रतिपक्षले पनि बजेटप्रति राम्रो धारणा नबनाउनुले सत्ता गठबन्धनको सरकार टिक्ने वा ढल्ने भन्नेमा आम नागरिकमा शंका उत्पन्न भएको छ।
उनले भने, ‘बजेटप्रति साथीहरू सबै असन्तुष्ट नै हुनुहुन्छ। अझै आक्रोशित हुनुहुन्छ, के हुन्छ भन्न सकिँदैन। यो विषय मरेको छैन तर यही स्थितिले जाने हो दुर्घटनातिर जान्छ कि जस्तो पनि लाग्छ। सरकार दुर्घटनामा जान्छ। तर त्यस्तो नजाओस् भन्नेमा प्रधानमन्त्री, अर्थमन्त्रीको ध्यान जानुपर्छ, चित्त बुझाउनुपर्छ, बेठिक भएको कुरालाई करेक्शन गर्नुपर्छ। मेरो पनि प्रयास छ, सबैले लचकता देखाऔं। यो सरकार ढल्न दिनु हुँदैन, ५ वर्षसम्म यो गठबन्धन चल्छ।’
अध्यक्ष नेपालले भारतीय नयाँ संसद भवनमा अखण्ड भारतको नक्सा राख्ने कुरालाई भारतले नेपाली मनोभावना बुझ्न जरूरी रहेको बताए।
उनले कम्युनिष्ट नेता प्रधानमन्त्री पुष्पकमल दाहाल पशुपति जानुभयो नि ? भन्ने सञ्चारकर्मीको प्रश्नमा कोही आस्थाले र कोही चर्चा कमाउनको लागि मन्दिर जाने गरेको बताए।
शनिबार प्रधानमन्त्री पुष्पकमल दाहालसहितको मन्त्रिमण्डल पशुपतिनाथ दर्शनका लागि पुगेको थियो।