अर्थमन्त्री प्रकाशशरण महतले प्रधानमन्त्री, पूर्वप्रधानमन्त्री र मन्त्रीहरूको क्षेत्रमा मात्रै बजेट दिएको भन्ने सांसदहरूको आरोपको खण्डन गरेका छन्।
सोमबार प्रतिनिधि सभा बैठकमा प्रमुख प्रतिपक्षी दल नेकपा एमाले लगायत अन्य दलका सांसदहरूले आगामी आर्थिक वर्षको बजेटमा प्रधानमन्त्री, पूर्वप्रधानमन्त्री र मन्त्रीहरूको जिल्लालाई मात्र प्राथमिकता दिएको आरोप लगाउँदै यसबारे जवाफ मागेका थिए।
जवाफमा अर्थमन्त्री महतले बजेट गोरखा, डडेलधुरा र नुवाकोटमा मात्र नभई देशैभरी प्राथमिकताका आधारमा विनियोजन गरिएको जानकारी दिए।
अझै पहिलेपहिलेका प्रधानमन्त्री र मन्त्रीहरूले लैजाने बजेटको तुलनामा यसपालिका प्रधानमन्त्री र मन्त्रीहरूको जिल्लामा कम बजेट परेको समेत उनले बताए।
'गोरखा, नुवाकोट र डडेलधुरामा अहिले राखेको बजेट हेरौं,' उनले भने,' पहिले पहिले प्रधानमन्त्री, अर्थमन्त्री र भौतिक पूर्वाधारमन्त्रीको क्षेत्रमा गएको बजेटको तुलना गरौं।'
'ककनी पुग्नेसम्म बाटोमा बजेट हालेको नुवाकोटमा राखेको रे ? आधी त काठमाडौं नै पर्छ । ती सबैलाई जोडेर नुवाकोट नुवाकोट भनिरहन पनि भएन,' उनले अगाडि भने।
उनले डडेलधुरमा बजेट गयो भनेर विरोध नगर्न पनि आग्रह गरेका छन्। शेरबहादुर देउवा धेरैपटक प्रधानमन्त्री भएर पनि डडेलधुराको विकास नभएको भन्ने कुरा निर्वाचनताका सामाजिक सञ्जालको माध्यमबाट देशैभरी चर्चा भएको स्मरण गराए।
'यतिका पटक प्रधानमन्त्री भएर पनि शेरबहादुर देउवा जीले केहीपनि काम गरेका रहेनछन्। बाटो नै पुगेको रहेनछ खानेपानी नै पुगेको रहेनछ,' उनले भने, 'अहिले अलिकति बजेट गयो भनेर त्यसलाई एकदम ठूलो बनाउनुपर्ने ? अरूअरू प्रधानमन्त्री हुँदा ककसले कति कति बजेट राखेका छन्। कहाँ कहाँ कति परेको थियो त्यसलाई तुलना गरौं स्पष्ट भइहाल्छ।'