नेपाल विद्यार्थी संघ (नेविसंघ), मोरङका विद्यार्थीले पूर्वाञ्चल विश्वविद्यालय सेवा आयोगका अध्यक्ष महेश दाहालमाथि कालोमोसो दलेर दुर्व्यवहार गरेका छन्।
नेपाली कांग्रेसको भ्रातृसंस्था नेविसंघका कार्यकर्ताले आफ्ना माग सम्बोधन नगरेको भन्दै सोमबार दाहालमाथि विराटनगरमा दुर्व्यवहार गरेका हुन्।
नेविसंघ कार्यकर्ता योगराज दाहालले ‘विश्वविद्यालय अराजक’ भएको भन्दै मोसो दल्नुपरेको तर्क गरेका छन्।
'विश्वविद्यालय नीति नियमविपरीत चलेको छ। सेवा आयोगले आफूनिकट कर्मचारी भर्ती केन्द्र बनाएको छ,' दाहालले भने।
विश्वविद्यालयमा अराजकता भएको दाबी गर्ने नेविसंघ आफैंले अराजकता प्रदर्शन गर्दै मोसो दल्ने जंगली व्यवहार गरेको भन्दै विश्वविद्यालयका प्राध्यापकहरूले आपत्ति जनाएका छन्।
उपकुलपतिले माग सम्बोधनका लागि वार्ता गरे पनि सेवा आयोगले आफ्ना मागहरूको बेवास्ता गरेकाले कालो मोसो दलेर चेतावनी दिएको नेपाल विद्यार्थी संघ मोरङका सभापति सरोज पोखरेलले बताए।
पाँच महिनासम्म पनि सेवा आयोगका अध्यक्षले संवाद गर्न नचाहेका कारण कालो मोसो दलिएको उनको दाबी छ।