मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले विश्वासको मत लिने भएका छन्।
मंगलबार साँझ ५ बजे प्रदेश सभाको आकस्मिक बैठक बोलाएर मुख्यमन्त्री यादवले विश्वासको मत लिन लागेको जनता समाजवादी पार्टीका सांसद रामअतिश यादवले जानकारी दिए।
उनका अनुसार पुरानो सत्ता समीकरणमा आवद्ध दल सरकारबाट बाहिरिएकाले विश्वासको मत लिन लागेका हुन्। नेकपा एमालेले केन्द्रको सरकार परिवर्तन भएसँगै सरकारबाट बाहिरिएको थियो। सरकारबाट बाहिरिएको ३० दिनभित्र मुख्यमन्त्रीले विश्वासको मत लिनुपर्ने व्यवस्था छ। त्यसो नगरे सर्वोच्च अदालतमा रिट परी कानुनी अड्चन आउने भन्दै मुख्यमन्त्री यादवले आकस्मिक बैठकमार्फत विश्वासको मत लिन लागेका हुन्।
सरोजकुमार यादव गत पुस २७ गते नेकपा एमाले, जसपा र जनमत पार्टीको समर्थनमा मुख्यमन्त्री बनेका थिए।
एमालेले त्यतिबेला तीन वटा मन्त्रालय पाएको थियो। भौतिक पूर्वाधार मन्त्रालयमा सरोजकुमार यादव, गृह तथा सञ्चार मन्त्रालयमा शत्रुधनप्रसाद सिंह र कानुन न्याय तथा प्रदेश मामिला मन्त्रालयमा राजकुमार लेखी थिए। त्यसयता कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, लोकतान्त्रिक समाजवादी पार्टी, जनमत र जसपा सरकारमा सहभागी छ।
यता सरकारबाट मन्त्री फिर्ता बोलाउने निर्णय गरेको नेकपा (माओवादी केन्द्र) ले पनि विश्वासको मत दिने भएको छ।
‘हामीले विश्वासको मत दिन्छौं। संसदीय दलको बैठक त बसेको छैन, तर मत हाल्छौं नै,’ प्रदेश सांसद युवराज भट्टराईले सेतोपाटीसँग भने।
माओवादी केन्द्रकै अर्की सांसद शारदा दासले पनि विश्वासको मत दिने जानकारी दिइन्।
माओवादी केन्द्रले मन्त्रालय भागवण्डामा असन्तुष्टि जनाउँदै सरकारबाट फिर्ता हुने निर्णय गरेको थियो।
माओवादी केन्द्रले अहिले एउटा मन्त्रालय पाएको छ। तर दुइटा मन्त्रालय माग गरिरहेको छ। यसअघि पनि माओवादीले असन्तुष्टि जनाउँदै दुई वटा प्रदेश सभा बैठक बहिष्कार समेत गरेको थियो।
माओवादीका तर्फबाट सुनीता यादव उद्योग वाणिज्य तथा पर्यटनमन्त्री थिइन्। सोही मन्त्रालयमा रहवर अन्सारी राज्यमन्त्री छन्।
यसो त नेकपा एमालेले भने आजको बैठकमा मुख्यमन्त्रीलाई विश्वासको मत दिने तयारी गरेको छ।
दुई महिनामै नयाँ समीकरण बन्ने भन्दै विश्वासको मत दिने एक एमालेकी सांसदले बताइन्।
‘एमालेले पनि विश्वासको मत दिन्छ। दुई महिनापछि नयाँ समीकरण बन्ने भएकाले यसपालि विश्वासको मत दिन्छौं,’ उनले भनिन्।
*यसअघि अन्यथा हुन गएकोमा सच्याइएको छ। - सम्पादक