प्रधानमन्त्री निवास बालुवाटारमा सत्ता गठबन्धनका नेताहरू बीच छलफल भएको छ।
सरकारले अघि सारेको बजेटमा सत्तारूढ दलभित्रै असन्तुष्टि चुलिएपछि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मंगलबार बिहान साझेदार दलहरूलाई बोलाएर छलफल गरेका हुन्।
छलफलमा नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, माओवादी केन्द्रका उपाध्यक्ष तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ, जनता समाजवादी पार्टीका नेता राजेन्द्र श्रेष्ठलगायत थिए।
‘सबैको मनोभावनालाई बजेटमा कसरी समाविष्ट गर्ने भनेर कुराकानी भयो, जति पनि विषय उठेका छन्, त्यसलाई हल गर्न प्रधानमन्त्री सकारात्मक हुनुहुन्छ,’ बैठकमा सहभागी जनता समाजवादी पार्टीका नेता राजेन्द्र श्रेष्ठले सेतोपाटीसँग भने, ‘बजेटमा समेट्न छुटेका विषयलाई लिएर गठबन्धनमा मनमुटाव आउनुहुँदैन भन्ने नै कुरा भयो।’
विशेष गरेर नेकपा एकीकृत समाजवादीले बजेटप्रति असन्तुष्टि जनाइरहेको छ। एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले बजेटलाई लिएर सरकार दुर्घटनामा पर्ने बताइरहेका छन् भने उपाध्यक्ष राजेन्द्र पाण्डेले यथास्थितिमा बजेट पास नै हुन नसक्ने बताइरहेका बेला प्रधानमन्त्री प्रचण्डले तदारूकता देखाएका हुन्।
‘बजेटमा मिलाउन सकिने ठाउँ धेरै हुन्छन्, भइपरी आउने शीर्षकमा छुट्टयाइएको रकमबाट पनि काम चलाउन सकिने हुन्छ। कतिपय स्रोत सुनिश्चित नभएको आयोजना बजेटमा समावेश गरिएको हुन्छ, प्रधानमन्त्रीले मिलाउँछु भन्नु भएको छ। असन्तुष्टिको हल खोज्ने र समझदारी बनाएर अघि बढ्ने कुरामा गठबन्धन एकढिक्का छ,’ श्रेष्ठले भने।
यता प्रधानमन्त्रीको सचिवालयले पनि सरकारले ल्याएको नीति, कार्यक्रम बजेटमा समान धारणा बनाएर अघि बढ्न सत्ता साझेदार दलहरू एकमत भएको बताएको छ।
‘प्रधानमन्त्रीले नै चाहेअनुसार त हुँदैन, सबैले भनेजस्तो, कार्यक्रम, बजेट बनाउन सकिँदैन। सैद्धान्तिक र सार कुरा मिलाएर बजेट पारित गरौं भन्नेमा सबै एकमत हुनुहुन्छ,’ प्रधानमन्त्रीको सचिवालयले भन्यो।