फेवातालको सिरानतर्फ सिमसार पुरेर बनाइएको प्लटिङमा पोखरा महानगरपालिकाले डोजर चलाएको छ।
महानगरबाट गएको नगर प्रहरीको टोलीले डोजर लगाएर प्लटिङ भत्काएको प्रवक्ता मोतिलाल तिमल्सिनाले बताए।
सिमसार क्षेत्र पुरेर धमाधाम प्लटिङ भइरहँदा समेत महानगरले कुनै कारबाही गर्न नसकेको भन्दै मेयर धनराज आचार्यको आलोचना हुँदै आएको थियो।
उनले सिमसार क्षेत्रका सबै प्लटिङ डोजर लगाएर भत्काउन सोमबार नगर प्रहरीलाई निर्देशन दिएका थिए।
रामसार क्षेत्रमा सुचीकृत फेवातालको सिमसार क्षेत्रलाई जग्गा वर्गीकरण गर्दा आवास क्षेत्रमा राखेर पुर्न अनुमति दिएको समाचार सेतोपाटीले प्रकाशित गरेको थियो।
त्यसपछि सरकारी अधिकारीहरू सिमसारको अनुगमनमा निस्किएका थिए।
जिल्ला समन्वय समिति कास्कीका प्रमुख लिलाधर पौडेलको संयोजकत्वमा गएको अनुमगन टोलीमा कास्कीका सिडिओ वासुदेव घिमिरे, पोखराका मेयर धनराज आचार्य लगायत सहभागी थिए। उनीहरूले पनि सिमसार क्षेत्र मास्ने गरी धमाधम पुरेर प्लटिङ गरेको भन्दै अनधिकृत कार्य तत्काल रोक्ने निर्णय गरेको थियो।
सिमसार अतिक्रमण रोक्न पोखरा महानगरले कार्य अघि बढाउने र आवश्यक सुरक्षाको बन्दोबस्त प्रशासन र प्रहरीले मिलाउने उनीहरूले निर्णय गरेका थिए।
यो पनि: सिमसारलाई आवास क्षेत्रमा राखेर पुर्न अनुमति दिँदै पोखरा महानगर