प्रतिनिधि सभाको कानुन, न्याय तथा मानव अधिकार समितिको बैठकमा पत्रकारलाई ल्यापटपमा समाचार लेख्न रोक लगाइएको छ।
समितिको बैठक कक्षमा मंगलबार संक्रणकालीन न्यायसम्बन्धी विधेयकबारे उपसमितिले छलफल राखेको थियो। पत्रकारहरू उक्त बैठकको रिपोर्टिङ गर्न सिंहदरबारस्थित समितिको कार्यकक्ष पुगेका थिए।
समितिको बैठकमा रिपोर्टिङका लागि पुगेका रातोपाटी अनलाइनका पत्रकार शम्भु दंगाललाई मर्यादापालकले समाचार लेख्न रोक लगाएका हुन्।
प्रतिनिधि सभाको समिति बैठकमा नेपाल प्रहरीबाट सुरक्षाका लागि मर्यादापालक खटिने गरेका छन्।
'आज कानुन, न्याय तथा मानव अधिकार समितिमा मर्यादापालकको नराम्रो व्यवहार भोग्नुपर्यो, ल्यापटपमा समाचार टाइप गरिरहेका बेला शङ्कर भण्डारी नाम भएका एक जना मयार्दापालकले ल्यापटप बन्द गर्न लगाएर बाहिर निकाले', शम्भुले भने, 'उनले समितिको बैठकमा ल्यापटप ल्याउन नपाउने जिकिर गरे, समाचार लेख्ने हो भने कलम कापी बोकेर आउनुपर्ने तर्क गरे।'
पत्रकार दंगालले समाचार लेख्न रोक लगाएपछि आफूले संसद सचिवालयका सचिव रोजनाथ पाण्डेलाई जानकारी गराएको बताए।
'उहाँ (पाण्डे) ले ल्यापटपबाट समितिको बैठक लाइभ जान सक्ने, समिति बैठकको अडिओ रेकर्ड हुन सक्ने भएकाले रोक लगाएको हुनसक्ने बताउनुभयो', शम्भुले भने, 'मैले समितिको बैठकमा भएका कुराको अडिओ, भिडिओ ल्यापटपले रेकर्ड गर्छ भन्ने डर भए समितिको बैठकमा क्यामेरा र मोबाइल पनि निषेध गर्न आवश्यक रहेको तर्क राखेँ।'