राष्ट्रपति रामचन्द्र पौडेलको एन्जिओग्राम गरिएको छ।
एक/डेढ महिनाअघि नै स्वास्थ्य परीक्षण गर्ने तयारी भए पनि उपचारको लागि भारत गएकोले आज एन्जिओग्राम गरिएको राष्ट्रपतिका स्वकीय सचिव चिरन्जीवी अधिकारीले बताए।
‘मुटुको अवस्था हेर्नको लागि एन्जिओग्राम गरिएको हो। उहाँको अवस्था सामान्य रहेको चिकित्सकहरूले बताउनु भएको छ’, उनले भने।
राष्ट्रपति पौडेललाई अस्पतालले भोलिमात्र डिस्चार्ज गर्ने तयारी गरेको छ।
मंगलबार बिहान ११ बजे उनलाई असहज भएपछि बाँसबारीस्थित गंगालाल अस्पतालमा लगिएको थियो।
अहिले उनको अवस्था सामान्य रहेको र भोलिसम्म डिस्चार्ज गर्ने तयारी रहेको अस्पतालले जनाएको छ।
‘उहाँलाई चिकित्सकको सल्लाह अनुसार २४ घण्टासम्म अवलोकनमा राखी भोलिसम्म डिस्चार्ज गर्ने तयारी छ’, अस्पतालले जारी गरेको विज्ञप्तिमा भनिएको छ।
उनी वैशाख १७ गते राति भारतको नयाँ दिल्लीस्थित एम्स अस्पतालमा उपचारपछि नेपाल फर्किएका थिए। वैशाख ६ गते उनी नयाँ दिल्ली पुगेका थिए।