प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेले संसदीय समितिमा सभापति नबनाउँदा घाटा भइरहेको बताएका छन्।
उनले मंगलबार सेतोपाटीसँग संक्षिप्त कुराकानी गर्दै समिति सभापति नबनाउँदा संसदलाई घाटा भएको बताए। समितिहरूमा सभापति चयन गर्न दलहरूले पनि गम्भीरता नदेखाएको उनले गुनासो गरे।
‘समिति सभापति नबनाउँदा घाटा भएको छ। संसदलाई पनि घाटा छ,’ उनले भने, ‘यो घाटा पूर्ति गर्न दलहरूको गम्भिरता देखिएन। उहाँहरू छलफलमा लाग्न सक्नु भएन।’
जसले गर्दा आफूलाई समेत अप्ठेरो भएको उनले बताए।
‘यसले मलाई पनि अफ्ठ्यारो परेको छ। मैले त सूचना निकाल्न खोजेको हो,’ उनले भने, ‘तर फेरि समस्या नआओस् भनेर निकालिनँ। प्रमुख सचेतक र सचेतकलाई पटकपटक भनिरहेको छु।’
प्रधानन्यायाधीशको नाम सिफारिस नहुँदासम्म पनि आफूले संसदीय सुनुवाइ समितिमा नेतृत्व चयन गर्न दबाब दिएको बताए। तर त्यसमा पनि कसैले गम्भीरता नदेखाएको उनको भनाइ छ।
‘सबैले ढिलो गर्न खोजेका छन्। हेर्दा गम्भीर देखिने तर काम नगर्ने प्रवृत्ति छ। समितिहरूमा जेष्ठ,जेष्ठ बनाउँदा राम्रो सन्देश जाँदैन,’ उनले भने, ‘मैले चुनावको तालिका निकाल्छु भन्दा समेत निष्कर्श आएन। दलहरूबाट पहल देखिएन। राजनीतिक पार्टीले पहल नगरी सूचना निकाल्न मिलेन।’