प्रस्तावित प्रधानन्यायाधीश हरिकृष्ण कार्कीको संसदीय सुनुवाई आजदेखि सुरू हुँदैछ।
संसदीय सुनुवाई समितिमा कार्कीको बिहान ८ बजेदेखि सुनुवाई सुरू हुने बताइएको छ।
सुनुवाईको सुरूआतमा कार्कीले आफ्नो कार्ययोजना पेस गर्नेछन्। त्यसपछि समितिका सदस्यहरूले उनीमाथि प्रश्न सोध्नेछन्।
वैशाख २५ गते प्रधानन्यायाधीशमा कार्कीको नाम सिफारिस भएको थियो। त्यतिबेला संसदीय सुनुवाई समिति नै गठन नभएको कारण उनको सुनुवाई ढिला भएको हो।
हाल कायममुकायम प्रधानन्यायाधीश रहेका कार्कीमाथि २९ वटा उजुरी दर्ता भएका छन्। बुधबार उजुरीकर्तासँग छलफल भएको थियो।
प्रधानन्यायाधीशमा कार्कीको नाम संसदीय सुनुवाई समितिले अनुमोदन गरेपछि राष्ट्रपतिले नियुक्त गर्ने व्यवस्था छ।
संसदीय सुनुवाई समितिमा कांग्रेसबाट रमेश लेखक, इश्वरीदेवी न्यौपाने, जीवन परियार, ज्ञानेन्द्रबहादुर कार्की र रमेशजंग रायमाझी, एमालेबाट पदम गिरी, महेशकुमार बर्तौला, लिलानाथ श्रेष्ठ, ईश्वरी जीएम र देवेन्द्र दाहाल छन्।
माओवादी केन्द्रबाट जनार्दन शर्मा र जगप्रसाद शर्मा, रास्वपाबाट डोलप्रसाद अर्याल, राप्रपाबाट पशुपतिशमशेर जबरा र जसपाबाट प्रकाश अधिकारी सदस्य छन्।
कार्की साउन १९ देखि अवकाशमा जाँदैछन्।