सरकारले बैकुण्ठ अर्याललाई मुख्य सचिव नियुक्त गरेको छ। उनले कार्यभारसमेत सम्हालेका छन्।
बिहीबार सिंहदरबारमा बसेको मन्त्रिपरिषद्को बैठकले अर्याललाई मुख्य सचिवमा नियुक्त गरेको हो।
बैकुण्ठ अर्यालले २ असारमा सचिवको पाँच वर्षे कार्यकालबाट अवकाश पाउँदै थिए। त्यसअघि नै सरकारले उनलाई मुख्यसचिव नियुक्त गरेको हो।
उनी प्रधानमन्त्री कार्यालयमा सचिव थिए।
उनले सूचना तथा सञ्चार, उद्योग वाणिज्य तथा आपूर्ति, योजना आयोगमा काम गरेका छन्। सहसचिव रहँदा लामो समय अर्थ मन्त्रालयको बजेट महाशाखामा काम गरेका थिए।
बजेटको समयमा खारेज गरिने निकायको अध्ययन पनि उनी नेतृत्वको कमिटीले नै गरेको थियो। उनी २०४९ सालदेखि शाखा अधिकृतबाट निजामती सेवामा प्रवेश गरेका हुन्।
अहिले मुख्यसचिव रहेका शंकरदास वैरागीलाई सरकारले राष्ट्रिय सुरक्षा परिषद् सल्लाहकार नियुक्त गरेको छ।
‘शंकरदास वैरागी राष्ट्रिय सुरक्षा परिषद् सल्लाहकार नियुक्त गर्ने मन्त्रिपरिषद्ले निर्णय गरेको छ,’ परराष्ट्रमन्त्री एनपी साउदले भने।