प्रधानन्यायाधीश प्रस्तावित हरिकृष्ण कार्कीमाथि आज संसदीय सुनुवाइ समितिमा प्रश्नोत्तर जारी छ।
प्रश्नोत्तरका लागि बिहान ८ बजे बोलाइएको बैठक केही ढिला गरी सुरू भएको थियो। कार्कीविरूद्ध दर्ता भएका २९ वटा उजुरीका सम्बन्धमा समितिका सदस्यहरूले आज उनीमाथि प्रश्न राख्नेछन्।
समितिमा १५ जना सदस्य छन्। कांग्रेसबाट रमेश लेखक, इश्वरीदेवी न्यौपाने, जीवन परियार, ज्ञानेन्द्रबहादुर कार्की र रमेशजंग रायमाझी छन् । एमालेबाट पदम गिरी, महेशकुमार बर्तौला, लिलानाथ श्रेष्ठ, ईश्वरी जीएम र देवेन्द्र दाहाल सदस्य छन्।
माओवादी केन्द्रबाट जनार्दन शर्मा र जगप्रसाद शर्मा, रास्वपाबाट डोलप्रसाद अर्याल, राप्रपाबाट पशुपतिशमशेर जबरा र जसपाबाट प्रकाश अधिकारी सदस्य छन्।
वैशाख २५ गते प्रधानन्यायाधीशमा कार्कीको नाम सिफारिस भएको थियो। त्यतिबेला संसदीय सुनुवाई समिति नै गठन नभएको कारण उनको सुनुवाई ढिला भएको हो।
हिजोदेखि सुरू भएको सुनुवाइका क्रममा कार्कीले हिजो आफ्नो कार्ययोजना र योग्यता प्रस्तुत गरेका थिए। उनले न्यायिक क्षेत्रको विचलन ६० प्रतिशत रोक्न सफल भएको बताएका थिए। आफूले लागू गरेको गोला प्रथापछि न्यायिक विचलन कम हुँदै गएको र स्वच्छता गर्ने दिशामा अगाडि बढेको दाबी गरेका थिए।
समितिले कार्कीको नाम अनुमोदन गरेपछि उनलाई राष्ट्रपतिले प्रधानन्यायाधीश नियुक्त गर्ने व्यवस्था छ।