नेकपा समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईले वृहत समझदारी मोर्चामा आफ्नो पार्टी सामेल हुने बताएका छन्।
माओवादी केन्द्रको नेतृत्वमा समाजवादी मोर्चाको कसरत भइसकेको छ। माओवादी केन्द्रसँगै मोर्चामा जनता समाजवादी पार्टी, नेकपा (एकीकृत समाजवादी) पार्टी आबद्ध हुने निश्चितजस्तै छ।
डा. भट्टराई नेतृत्वको समाजवादी जसपाका कारण आउन आनाकानी गरिरहेको टिप्पणी भइरहेका बेला उनले प्रष्ट पार्न खोजेका हुन्।
‘प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग हालैको भारत भ्रमण, संघीय बजेट, शान्ति प्रकृयाका बाँकी कार्यभार, प्रस्तावित समाजवादी मोर्चा लगायतका विविध विषयमा विहङ्गम कुराकानी भएको छ,’ उनले फेसबुकमा लेखेका छन्, ‘देशमा हालसम्म प्राप्त संघीय लोकतान्त्रिक गणतन्त्र लगायतका उपलब्धीहरूको रक्षा गर्दै समाजलाई निरन्तर अग्रगमनको दिशामा लैजानका लागि बृहत् समाजवादी मोर्चा निर्माण गर्न विचार, नीति, कार्यक्रम, संगठनात्मक विधि लगायतका विषयमा सम्भव भएसम्म सबै पक्षबीच गम्भीर छलफल गर्दै अघि बढ्ने समझदारी भएको छ। बाहिर चलेका हल्लामा नबग्न सबैसँग आग्रह छ।’
समाजवादी मोर्चा बनाउन एकीकृत समाजवादी हतारिएको छ। शुक्रबार बिहान उसको अनौपचारिक बैठक बसेको थियो।
यता जनता समाजवादी पार्टीका नेता राजेन्द्र श्रेष्ठले आजै मोर्चा घोषणा हुने सम्भावना न्यून रहेको बताए। ‘आज दिउँसो वामदेव गौतमसँग कुराकानी गर्छौं। उहाँ नेतृत्वको नेकपा एकता राष्ट्रिय अभियानसमेत मोर्चामा आबद्ध हुन इच्छुक देखिएकाले कुराकानी गर्न आवश्यक देखिएको हो,’ उनले भने, ‘त्यसपछि मात्रै मोर्चा घोषणा हुन्छ।’
एकीकृत समाजवादीका प्रवक्ता तथा उपमहासचिव जगन्नाथ खतिवडाले संसदको काम प्रभावकारी बनाउने र दुरगामी हिसाबले अघि बढ्ने गरी मोर्चा बनाउने प्रक्रिया अघि बढाइएको बताए।
उनका अनुसार मोर्चामा आबद्ध घटकहरूको एउटा संयन्त्र बन्ने छ। त्यसैले साझा, नीति र दृष्टिकोण तय गर्ने छ।