चीनमा उपचार गराइरहेका माओवादी केन्द्रका उपमहासचिव एवं पूर्वअर्थमन्त्री वर्षमान पुन 'अनन्त' स्वास्थ्य लाभ गरी स्वदेश फर्किएका छन्।
पुन चिनियाँ सहर छेन्दुबाट एयर चाइनाको नियमित उडानमार्फत् शुक्रबार नेपाल आएका हुन्।
पुनका साथमा पूर्वसभामुख एवं उनकी पत्नी ओनसरी घर्ती पनि स्वदेश फर्किएकी छन्।
पुनलाई स्वागत गर्न माओवादी केन्द्रका वरिष्ठ नेता एवं उपप्रधान र गृहमन्त्री नारायणकाजी श्रेष्ठ, नेताहरू झक्कु सुवेदी, जयपुरी घर्ती, दुर्गा चापागाईं, हिमाल शर्मालगायत अन्तर्राष्ट्रिय विमानस्थलको विशिष्ट कक्षमा पुगेका थिए।
लामो समयदेखि जटिल प्रकारको वंशाणुगत जण्डिसबाट पीडित पुनलाई स्वास्थ्य अवस्था निकै जटिल बनेपछि गत १ फागुनमा चीन लगिएको थियो।
उनको सेनजेनस्थित थर्ड पिपुल्स अस्पतालमा उपचार भएको थियो।
चीन जाँदा उनको शरीरमा जण्डिसको मात्रा (बिलरुबिन) ४० बिन्दुमा थियो।
चार महिना लामो उपचारपछि स्वदेश फर्किएका पुन तन्दुरूस्त देखिएका छन्।
हाल बिलरुबिनको मात्रा घटेर १.५ बिन्दुमा झरेको उनले बताए।
चिकित्सकहरूका अनुसार सामान्यतः स्वस्थ मानिसको शरीरमा बिलरुबिनको मात्रा १.५ देखि ८ बिन्दुसम्म हुने गर्छ। त्यो भन्दा बढी भए जण्डिस भएको मानिन्छ। तर, पुनको शरीरमा भने सामान्य अवस्थामा पनि बिलरुबिनको मात्रा ११/१२ बिन्दु रहने गरेको थियो। यसअघि पुनको थाइल्याण्डको बैंककस्थित समितिभेज अस्पतालमा उपचार भएको थियो। तर, थाइल्याण्डको उपचार विधिले काम नगरेसँगै स्वास्थ्य अवस्था नाजुक भएपछि ०७८ मंसिरमा पुनलाई बैंककबाट एयर एम्बुलेन्समार्फत सिधै चीनको सेनजेन लगिएको थियो।
बिलरुबिन नियन्त्रित अवस्थामा रहेपछि स्वदेश फर्किएका पुनको स्वास्थ्य गत ४ मंसिरको प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचनको धपेडीका कारण पुनः बिग्रिएको थियो।
रोल्पाबाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित पुन अस्वस्थताका कारण चुनावी गतिविधिमा समेत संलग्न हुन सकेका थिएनन्। पुनमा भएको स्वास्थ्य समस्यालाई चिकित्सकीय भाषामा ‘क्रिग्लर–नजर–टाइप टु सिन्ड्रोम’ भनिन्छ। यो जटिल प्रकारको वंशाणुगत रोग हो। जसका कारण मानिसको शरीरमा जण्डिसको मात्रा अस्वाभाविक भएर पित्तको मात्रा बढ्ने र कलेजो तथा पित्तथैलीमा संक्रमणको जोखिम उच्च रहन्छ।