जनमत पार्टीका अध्यक्ष तथा प्रतिनिधि सभा सदस्य सिक राउतले बैंक लुटेजसरी चार यारले बजेट आफ्नो क्षेत्रमा लगेको टिप्पणी गरेका छन्।
प्रतिनिधि सभामा जारी मन्त्रालयगत बजेटमाथिको छलफलमा बोल्दै बैंक लुट्दा खुद्रा पैसा खसेजसरी अन्य बाँकी क्षेत्रमा विनियोजन गरिएको बताएका छन्।
उनले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, कांग्रेस सभापति शेरबहादुर देउवा, अर्थमन्त्री प्रकाशशरण महत र भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाको जिल्लामा बढी बजेट गएको भन्दै असन्तुष्टि पोखेका हुन्।
‘यो बजेट ल्याएको हो कि लुटेको हो? अलि स्पष्ट देखिँदैन। यसो हेर्दा त बजेट बनाएको होइन, लुटेकोजस्तो देखिन्छ। जसरी बैंक लुट्दा चार यारहरूले लुटेर लान्छन्, त्यसैगरी चार यारहरूले मिलेर लुटेर गएजस्ता देखिन्छन्। बाटोमा लग्दा खुद्रा पैसा खस्दै गएजसरी अन्य क्षेत्रमा गएको देखिन्छ। चार यारहरू मिलेर अँध्यारोमा गएर बाँडफाँट गरेजस्तो देखिन्छ,’ उनले भने।
उनले लुटको श्रृंखला चली नै रहेको पनि टिप्पणी गरे। गत वैशाखको उपचुनावमा धाँधली भएकोसमेत भन्न भ्याए।
‘स्वभाविक कुरा हो, यो सरकारले लुट्ने क्रम जारी नै राखेको छ। वैशाखमा मतपेटिका लुटे, जेठमा आएर बजेट लुट्ने काम भयो। लुट्ने प्रवृत्तिको निरन्तरताकै रूपमा बजेटमा आएको छ। पूराका पूरा लुट्ने प्रवृत्ति देखिएको छ,’ उनले भने।
उनले बजेटमाथि एक महिना बहस भए पनि कमा र पूर्णविरामसमेत परिवर्तन नहुनेहुँदा संसद्मा कुनै उत्साह नभएको पनि बताए।
‘किन बोलेर समय खर्च गर्ने यहाँ?,’ उनले भने, ‘काग कराउँदै गर्छ पिना सुक्दै गर्छ भन्नेजस्तो देखिएको छ। २७५ जना पनि नचाहिने रहेछ, ७–८ जना भए हुने रहेछ। यो बजेटमाथिको चिन्ता होइन, समग्र व्यवस्था र संसदमाथि नै खतरा उत्पन्न भएको देखियो, त्यो चिन्ता छ।’