सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले नेपालको कला संस्कृति र मौलिकता नयाँ पुस्तालाई बुझाउन अनिवार्य भएको बताएकी छन्।
चलचित्र विकास बोर्डले शुक्रबार दाङको घोराहीमा आयोजना गरेको प्रथम बाल चलचित्र महोत्सव उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री शर्माले नयाँ पुस्तालाई देश चिनाउने अभियानलाई व्यापक बनाउनुपर्ने बताएकी हुन्। त्यसका लागि चलचित्र क्षेत्र महत्वपूर्ण आधार हुने सक्ने उनले बताइन्।
‘चलचित्र मनोरञ्जनको साधन मात्रै नभई मानिसको दिल बदल्ने आधार हो,’ उनले भनिन्, ‘यसको माध्यमबाट नयाँ पुस्तालाई देश चिनाउन सहज हुने म ठान्छु।’
नेपाल संस्कृतिको धनी देश भएकाले यहाँको कला संस्कृतिको अन्तर्राष्ट्रियकरण आवश्यक रहेको उनले जोड दिइन्।
‘चलचित्र आम मानिसको रोजाइको क्षेत्र बन्ने गरेको छ। चलचित्रले दर्शकलाई मात्र मनोञ्जन दिँदैन,’ उनले भनिन्, ‘यो क्षेत्रमा लागेर व्यक्तित्व निर्माण गर्न चाहनेहरूका लागि पनि चलचित्र महत्वपूर्ण क्षेत्र हो।’

चलचित्र क्षेत्रबाटै कयौं कलाकारहरूले आफ्नो व्यक्तित्व निकै उँचो बनाउँदै आएको भन्दै उज्वल भविष्यको मिठो परिकल्पना गर्ने उमेर समूहका बालबालिका र किशोरकिशोरीलाई चलचित्र क्षेत्रमा आकर्षित गर्न महोत्सवबाट टेवा पुग्ने उनले आशा व्यक्त गरिन्।
नेपालमा यो प्रथम राष्ट्रिय बाल चलचित्र महोत्सव भए पनि अन्तर्राष्ट्रियस्तरमा नियमित रूपमा नै यस्ता महोत्सवहरू हुने गरेको उल्लेख गर्दै मन्त्री शर्माले नेपालबाट पनि बालबालिकाले बनाएका वा उनीहरूका बारेमा बनेका चलचित्र अन्तर्राष्ट्रिय महोत्सवमा पुर्याउने गरी तयारी थाल्न जरूरी रहेको उनले बताइन्।
त्यस्तै, उनले बालबालिकामाथि हुने सबै प्रकारका विभेदको अन्त्य गरी रचनात्मक र सिर्जनशील कार्यमा प्रेरित गर्न अभिभावक लगायत आम नागरिकलाई सचेत र जागरूक बनाउन जरूरी रहेको चर्चा गरेकी थिइन्।