नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले भ्रष्टाचारको आरोपमा तानिएका नेताहरूको प्रतिरक्षा राजनीतिक दलहरूले गर्न नहुने बताएका छन्।
शनिबार काठमाडौंमा आयोजित ‘शासन र शासक’ नामक पुस्तक विमोचन कार्यक्रममा बोल्दै उनले त्यस्ता गतिविधिमा संलग्न कुनै पनि नेतालाई पार्टीले प्रतिरक्षा गर्न नहुने बताएका हुन्।
‘मेरो पार्टीको अमूक नेता चाहि निर्दोष हुनुहुन्छ, फसाउन पाइँदैन, फसाउन खोजिँदैछ भनेर हामी कसैले भन्न पाउँदैनौं। यो देशमा कानुन छ। यो देशमा संविधान छ। यो देशमा अख्तियार छ। यो देशमा अदालत छ,’ उनले भने, ‘तिनले भन्ने हो कि तिम्रो दलको नेता निर्दोष छ। लिएर गएर पार्टीको नेतृत्व गराऊ। अथवा तिम्रो दलका नेता दोषी देखिनु भयो। नख्खु जेलमा भेटन जाऊ भन्ने कुरा कसले गर्छ? भन्दा अदालतले गर्छ।’
कांग्रेस, एमाले र माओवादी केन्द्रजस्ता राजनीतिक पार्टीले आफ्नो पार्टीको अमूक नेताहरूलाई निर्दोष सावित गर्ने प्रयास गर्न नहुने बताए।
‘त्यो कर्ममा काँग्रेस, एमाले, माओवादी जस्ता दलले कसैले प्रतिरक्षा नगर्ने। र, कोही पनि निर्दोष नफसून। र, कोही पनि दोषी नउम्किउन भन्ने मनोविज्ञान बनाउने कुरा पनि सुशासनको एउटा कदम हुन्छ’, उनले भने।
यस्तै उनले मुलुकको शासन र शासकीय संरचना सुधारका लागि राष्ट्रपति दोहोर्याएर नहुने, प्रधानमन्त्री दुई पटकभन्दा बढी नहुने व्यवस्था बनाउनुपर्ने बताए थिए।
‘एक पटक राष्ट्रपति भएपछि अव दोहोर्याएर नहुने सिष्टममा जऊ । दुई पटक प्रधानमन्त्री भएपछि तीन पटक नपाउने बनाऊ। ३ पटक भएपछि चार पटक नपाउने बनाऊ,’ उनले भने, ‘४ पटक सांसद भएपछि बिदा लिने सिष्टम बनाऊ। जतिसुकै योग्य व्यक्ति भएपनि यो भन्दा बढि जिम्मेवारी नलिऊ। व्यक्ति जतिसुकै योग्य होस्। यसो गरेर मात्रै शासक र शासन व्यवस्थालाई सुधार गर्न जरुरी छ।’