भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले कोशी प्रदेशका केही जिल्लाहरूमा आएको बाढी र पहिरोल सडक र पुलमा मात्रै ५० करोडको क्षति पुर्याएको जानकारी दिएका छन्।
आइतबार ताप्लेजुङ, संखुवासभा, पाँचथर र तेह्रथुममा आएको बाढी पहिरोले भौतिक पूर्वाधार मन्त्रालय अन्तर्गत रहेका पुल सडकमात्रै ५० करोडको क्षति भएको बताएका हुन्।
पाँच दिनदेखिको वर्षा र त्यसपछि आएको बाढीले विभिन्न पुलहरू बगाउनका साथै बेलिब्रिज र सडकहरूमा क्षति पुर्याएको छ।
मन्त्री ज्वालाले हेवा खोला लगायत पुल बगाएको अन्य खोलामा तत्काल बेलिब्रिज बनाएर सडक खोल्ने काम सुरू भइसकेको जानकारी दिए।
'विभागबाट इमरजेन्सी अवस्थामा काम गर्नका लागि बेलिब्रिज निर्माण गर्न डिभिजन कार्यालय इलामलाई निर्देशन दिइसकिएको,' सांसदहरूलाई बाढीले पुर्याएको क्षतिबारे जानकारी गराउँदै मन्त्री ज्वालाले भने, 'बेलिब्रिज निर्माण नभएसम्म सतहबाट नै डाइभर्सन बनाएर भएपनि यातायात खुलाउने गरी काम सुरू भइसकेको छ।'
उनले अवरोध भएको सडक खुलाउन डिभिजन कार्यालय इलाम, यान्त्रिक कार्यालय फिदिम, तमोर करिडोर योजना कार्यालय र मध्यपहाडी सडक कार्यालयका पदाधिकारीहरूलाई हामीले मन्त्रालय र विभागबाट निर्देशन दिइसकेको समेत जानकारी गराएका छन्।
सो अनुसार हेवाखोलामा पुल भत्किएको ठाउँमा आजैदेखि बेलिब्रिज निर्माणको काम आजैदेखि सुरू भएको उनले जानकारी गराए।
अन्य विभिन्न ७ ठाउँमा सडक अवरूद्ध हुने कुरालाई ध्यानमा राखेर पूर्वतयारी पनि अगाडी बढाएको जानकारी दिए।
उनले बेपत्ताको उद्दारका निम्ति, राहत र सहयोगका निम्ति तीव्र रूपमा काम अघि बढाइरहेको जानकारी गराए।
त्यसका लागि नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी, सरकारी निकायका राष्ट्रसेवक कर्मचारी खोज उद्दार र राहतका काममा सक्रियताका साथ लागिरहेको पनि जानकारी गराए।