नेकपा राष्ट्रिय अभियानलाई पार्टीको रूप दिँदै गतिविधि गरिरहेका वामदेव गौतम एमाले फर्किने निश्चित भएको पार्टीका नेताहरूले बताएका छन्।
अध्यक्ष केपी शर्मा ओलीसँगको भेटपछि गौतम उत्साहित भएको र व्यवस्थापनको कुरामात्रै बाँकी रहेकाले समाजवादी मोर्चामा जाने सम्भावना नरहेको एमाले उपमहासचिव प्रदीप ज्ञवालीले जानकारी दिए।
‘भेटमा लामो कुराकानी भएको छ। उहाँ पहिलेदेखि नै आउन तयार हुनुहुन्थ्यो। खाली पार्टीमा रहेका साथीहरूको व्यवस्थापन के हुन्छ भन्ने कुरा उहाँको थियो। अध्यक्षले आउनुस् मिलाउँछौं भन्नु भएको छ। आजै टुंगिइसकेको त छैन तर उहाँ आउनुहुन्छ,’ उनले भने, ‘उहाँ समाजवादी मोर्चामा जानुहुन्न भन्ने नै लाग्छ।’
अध्यक्ष ओली र संयोजक गौतमबीच पार्टी मुख्यालयमा करिब डेढ घन्टा कुराकानी भएको थियो।
भेटपछि सञ्चारकर्मीसँग कुरा गर्दै संयोजक गौतमले ६० लाख भोट ल्याउने गरी आफू दिनरात क्रियाशील हुन तयार रहेको बताएको भनेका थिए।
‘म पहिलोपटक यहाँ आएँ। सबैले स्वागत गर्नुभयो। सबैले आउनुपर्छ भन्नुभयो।म काम गर्ने व्यक्ति हो। नमर्दासम्म काम गरिरहन्छु। मेरो क्षमताअनुरूपको काम दिनुस्, म सम्मानित हुन्छु। सम्मानित ढंगले काम गर्न पाउनुपर्छ भने,’ उनले भने, ‘यहाँको सबैभन्दा ठूलो नेताको जति जिम्मेवारी छ, त्योभन्दा कम जिम्मेवारी नदिनुहोला, बिहानदेखि राति सुत्नेबेलासम्म काम गर्नुपर्छ। मैले केही विचार लेखेर दिएको छु, त्यसअनुसार काम भयो भने आगामी निर्वाचनमा ६० लाख मत ल्याउन सकिन्छ त्यसरी काम गर्नुपर्छ।’
एमालेको जेठ १९ गते बसेको सचिवालय बैठकले विधानको धारा ८९ मा रहेको ७० वर्षे उमेर हद निलम्बन गर्ने निर्णय गरेको छ।
दुनियाँका उमेर हदको व्यवस्था कतै नभएको र प्रगतिलाई रोक्ने भएकाले हटाइएको अध्यक्ष ओलीले बताएका छन्।
एमालेले उमेर हद फुकुवा गरेपछि पार्टीमा फर्कन वामदेव उत्साहित भएको नेताहरूले बताएका छन्। यसअघि ओली र गौतमबीच दुईपटक भेटवार्ता भएको थियो। कुराकानीमा राष्ट्रिय सभाका सदस्यसमेत रहेका गौतमले उमेर हद हटाउन भन्दै आएका थिए।
उनले अघिल्लो असार १४ गते नेकपा एकता राष्ट्रिय अभियानलाई पार्टीको रूप दिएका थिए।
अध्यक्ष ओलीले संसद् विघटन गरेपछि गौतमले २०७७ पुस २५ गते ललितपुरको धोबिघाटमा भेला गरेर नेकपा एकता राष्ट्रिय अभियानको थालनी गरेका थिए।