राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले राजनीति कार्यदिशासहितको मस्यौदालाई अन्तिमरूप दिन १७ सदस्यीय कार्यदल बनाएको छ।
सोमबार बिहान बसेको पार्टीको केन्द्रीय कार्यसमिति र संसदीय दलको संयुक्त बैठकले भदौको पहिलो हप्ता बुझाउने गरी दस्तावेज तयार पार्न १७ सदस्यीय कार्यदल बनाएको हो।
दस्तावेजमाथि विमर्श गर्न गत फागुनमै रास्वपाले ७ वटा समूह बनाएको थियो।
त्यही समूहमध्येबाट २/२ जना र नीति तथा विचार विभाग प्रमुख मुकुल ढकाल, केन्द्रीय सदस्य रमेश प्रसाईं र प्रशिक्षण विभाग सचिव कमल सुवेदी रहने कार्यदल बनाइएको छ। ढकाल, प्रसाईं र सुवेदीले दस्तावेज तयार पारेका हुन्।
‘प्रत्येक समूहबाट २/२ जना रहने कुरा हो। तर, सबै समूहबाट २/२ जना नै नहुन सक्छन्। त्यकारण कुनै समूहबाट थपिन पनि सक्नुहुन्छ। यसरी कुल १७ जना हुने र उनीहरूले दस्तावेजलाई अन्तिम रूप दिनेछन्। भदौको पहिलो हप्ता मस्यौदाको काम सकेर सभापतिलाई बुझाउने निर्णय भएको हो,’ पार्टीका महामन्त्री तथा प्रवक्ता ढकालले सेतोपाटीसँग भने।
त्यस्तै आज बसेको बैठकले असार ७ गते स्थापना दिवसका सन्दर्भमा चियापान कार्यक्रम गर्ने निर्णय गरेको छ।
यो पनि
चीनको 'पिपुल्स कंग्रेस' बाट प्रेरित रास्वपाको प्रदेश परिषद्को प्रस्ताव: महामन्त्री ढकाल
नयाँ दस्तावेजबारे रास्वपाभित्र वादप्रतिवाद, के भन्छन् नेताहरू?
रास्वपा जनताबाट प्रत्यक्ष निर्वाचित प्रधानमन्त्रीको पक्षमा उभिने