नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द 'विप्लव'ले समाजवादी मोर्चा नेपाली राजनीतिको नयाँ मोड रहेको दाबी गरेका छन्।
सोमबार राष्ट्रिय सभागृहमा आयोजित समाजवादी मोर्चा घोषणा कार्यक्रमलाई सम्बोधन गर्दै विप्लवले सरकारमा रहेको पार्टी र सडकमा जनताका लागि संघर्ष गरिरहेको पार्टी एउटै मोर्चामा एकतावद्ध हुनु नेपाली राजनीतिको दुर्लभ परिघटना रहेको दाबी गरे।
'यो नेपाली राजनीतिमा नयाँ प्रयोग हो । नेपालको इतिहासमा यसरी कहिल्यै प्रयोग भएको छैन,' उनले भने, ' सरकारमा भएको पार्टीपनि यहाँ हुनुहुन्छ र हामी जनताको बीचमा संघर्ष गरिरहेका पार्टीहरू पनि यहाँ छौं।'
महासचिव विप्लवले नेपाल अत्यासलाग्दो राजनीतिक परिस्थितिबाट गुज्रिरहेको र चार दलबीचको लामो छलफलपछि नेपाली जनताकै चाहनाबमोजिम एउटै मोर्चामा उभिने निष्कर्षमा पुगेको बताए।
'थुप्रै खालका अन्यौलता र आकांक्षाका बीचमा नेपालका नागरिकहरू उभिइरहेका छन्।
यो विशिष्ठ परिस्थिति सामान्य छैन,' उनले भने, 'आजको परिस्थितिबाट प्रतिगामी र पश्चगामी मौकाको फाइदा उठाउन दिनुहुँदैन।'
त्यसकै लागि समाजवादी मोर्चा अगाडि ल्याइएको उनको भनाइ छ।
'नेपालको स्वाधीनता, नेपाली जनताको अधिकारका लागि नयाँ संघर्ष लडाइँ अगाडि बढाउनुपर्छ भन्ने सोचका साथ इतिहासमा हामीले नयाँ अभ्यास अगाडि ल्याएका छौं, समाजवादी मोर्चा नेपाल,' उनले भने।