पूर्वप्रधानमन्त्री नेकपा(एकीकृत समाजवादी)का सम्मानित नेता झलनाथ खनालले समाजवादी मोर्चालाई सत्ता टिकाउने मोर्चा मात्र नबनाउन नेताहरूलाई आग्रह गरेका छन्।
सोमबार काठमाडौंमा आयोजित समाजवादी मोर्चा नेपाल घोषणा कार्यक्रमलाई सम्बोधन गर्दै उनले समाजवादी मोर्चा केवल सत्ता टिकाउने मोर्चा मात्रै नबनाउन नेताहरूलाई आग्रह गरेका हुन्।
‘म चारै दलका नेताहरूलाई आग्रह गर्न चाहन्छु कि, यो मोर्चा खाली सत्तालाई टिकाउने मोर्चा मात्रै नबनोस्। यो मोर्चा साँचो अर्थमा आमुल परिवर्तनको मोर्चा बनोस्,’ उनले भने, ‘यो मोर्चा सम्पूर्ण वामपन्थीहरूलाई एकतावद्ध गर्ने मोर्चा बनोस्। यसरी मात्रै
हामी यो देशको भविष्यलाई उज्यालो बनाउन सक्छौँ।’
उनले देशभरका वामपन्थी, समाजवादी र क्रान्तिकारीहरूलाई एकतावद्ध नगरेसम्म देशमा सही विकल्प निर्माण हुन नसक्ने बताए।
उनले यो समाजवादी मोर्चालाई अझ विस्तार गर्नु आवश्यक रहेको बताए। मोर्चा निर्माणको पहिलो पाइला मात्रै भएको उनको भनाई छ।
‘अहिले जुन प्रकारको यो मोर्चा बनेको छ। मलाई लाग्छ यो मोर्चाको निर्माण पहिलो पाइला हो। यो पहिलो पाइला मात्रै हो। सिंगो देशका समस्त देशभक्तहरूलाई, समस्त वामपन्थीहरूलाई, समस्त समाजवादीहरूलाई, समस्त क्रान्तिकारीहरूलाई हामीले एकतावद्ध नगरेसम्म हाम्रो देशमा सही विकल्प निर्माण हुन सक्दैन,’ उनले भने, ‘त्यसो हुनाले हामीले यो मोर्चालाई अझै व्यापक
बनाउनुपर्ने आवश्यकता छ। अझ विस्तार गर्नुपर्ने आवश्यकता छ।’