प्रधानमन्त्री तगा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले २०७५ जेठ ३ गते नेकपा नबनाइ समाजवादी मोर्चा बनाएको भए एमालेसँगको एकता टिक्थ्यो कि भन्ने विचार व्यक्त गरेका छन्।
सोमबार समाजवादी मोर्चा घोषणामा बोल्दै प्रधानमन्त्री प्रचण्डले एमालेसँगको एकता हतारमा भएको निष्कर्ष बताएका हुन्।
‘कमरेडहरू केही वर्ष पहिले यही हलमा हो। यही रोष्ट्रमबाट नेकपा बनाउने घोषणा गरेका थियौं। मैले लामो व्याखा गर्नु छैन, हामीले निकै ठूलो भरोसा गरेका थियौं र अपेक्षा पनि गरेका थियौं। नेकपाले देशलाई समाजवादको बाटोमा, आर्थिक सामाजिक रूपान्तरणको बाटोमा अगाडि बढाउने छ भन्ने निकै ठूलो विश्वास लिएका थियौं, हामीले माओवादी केन्द्रका हैसियतले नेकपा गठनको निम्ति मैले प्रस्तावकको भूमिका खेलें,’ उनले त्यतिबेलाको परिघटना स्मरण गर्दै भने, ‘दुर्भाग्य! जनताको र आम कार्यकर्ताको अपार समर्थर उत्साहको बाबजुद हामीले त्यो पार्टीलाई बचाउन सकेनौं।’
झन्डै दुई तिहाइ बहुमतमा पुगेको जनसमर्थन र देशका सबै नेता कार्यकर्ताहरूको हृदयदेखिको समर्थनलाई नेताहरूले बचाउन नसकेको प्रचण्डको निचोड थियो।
यसबारे कसैलाई आरोपित गर्न नचाहने तर समीक्षा गर्नुपर्ने उनको भनाइ थियो।
‘हामी सबैले आत्म समीक्षा गर्नुपर्ने राष्ट्रिय आवश्यताबारे ध्यानकर्षण गराउन चाहन्छु। हामीले कहाँ त्रुटि गर्यौं? एकपटक ऐतिहासिकरूपले यसको समीक्षा गरौं। हामीले त्यतिबेला समाजवादी मोर्चामात्रै बनाएको भए हुन्थ्यो कि, पार्टी एकता गर्ने हतारो पो गरेछौं कि? हामीले त्यतिबेबला समाजवादी मोर्चा नै बनाएर मोर्चाबाट काम सुरू गर्दै गएर छलफल गर्दै गएर विचारमा, राजनीतिमा संगठनमा, कार्यशैलीमा, संस्कारमा एकरूपता कायम राखेको भए हामी सफल हुन्थ्यौं कि, यो एउटा गम्भीर प्रश्न छ, वामपन्थी, प्रगतिशीलले सोच्नुपर्ने भएको छ,’ उनले भने।