नेकपा एमालेका सांसद योगेश भट्टराईले प्रेम चलाउनेमाथि सांघातिक आक्रमण गर्नेविरूद्धको मुद्दा फिर्ता लिएर सरकारले दण्डहीनता निम्त्याएको बताएका छन्।
बुधबार प्रतिनिधिसभा बैठकमा मन्त्रालयगत बजेटमाथिको छलफलमा बोल्दै सांसद भट्टराईले सरकारले गरेको मुद्दा फिर्ताको निर्णय तत्काल खारेज गर्नसमेत माग गरेका छन्।
उपप्राध्यापक चलाउनेविरुद्ध ज्यान मार्ने उद्योग अन्तर्गतको मुद्दा कांग्रेसनिकट विद्यार्थी संगठन नेविसंघमा आवद्ध विद्यार्थीहरुले खेपिरहेका थिए। सो मुद्दा फिर्ता गर्ने निर्णय गरेर सरकारले दण्डहीनता निम्त्याएको उल्लेख गर्दै त्यसलाई तत्काल खारेज गर्न भट्टराईले माग गरे।
‘सधैँ सदाचारको पक्षमा उभिने कानुनमन्त्रीले यस्ता मुद्दा फिर्ता गर्ने निर्णयमा हस्ताक्षर गर्न कसरी सक्नुभयो?’ भट्टराईले कानुनमन्त्री धनराज गुरूङलाई भने, ‘प्लीज, तपाईले यो निर्णय फिर्ता लिनुस्। र, तपाईले आफ्नो पुरानो प्रतिवद्धता, मान्यता हो। त्यसमा उभिनुस्।’
उनले देश बनाउने जिम्मा पाएका एमाले र नेपाली कांग्रेस जस्ता ठूला पार्टीका प्रतिनिधिहरूले मुलुकमा दण्डहीनताको स्थिति सिर्जना गर्ने काम गर्न नहुने बताए।
‘यदि तपाई–हामीनै त्यो गर्ने हो भने यो देश कसले बनाउँछ। यो देश कता जाँदैछ?,’ उनले भने, ‘यदि हामीले त्यसमाथि खेलबाड गर्छौं भने यो देश वास्तवमा गलत दिशातिर जान्छ।’
सचिव भट्टराईले जनताको विश्वासमाथि खेलबाड गर्ने छुट सरकारलाई नभएको पनि बताए।