राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले पुराना दलहरूको मोर्चाबन्दीले परिणाममा असर नगर्ने बताएका छन्।
पार्टी स्थापना दिवसका अवसरमा बिहीबार नयाँ पार्टी कार्यालय बालाजुमा आयोजित पत्रकार सम्मेलनमा उनले नदेखेको, नबुझेको दल नभएको टिप्पणी गरेका हुन्।
‘दलहरूले गठबन्धन चुनावमा गरेका होइनन् र? डा. स्वर्णिम वाग्लेको निर्वाचन क्षेत्रमा गरेको होइन र? दलहरूको लागि नयाँ होला त्यो मोर्चा, हाम्रा लागि नौलो कुरा होइन, घोषित, अघोषित मोर्चा तोडेर गत उपनिर्वाचनमा नयाँ रेडर्क नै राखेका हौं। उहाँहरूको कदममा मैले केही प्रतिक्रिया दिनुहुँदैन, त्यो अरू दलको कुरा हो। तर, हामीले नदेखेको दलचाहिँ देखेको छैन।’
उनले मोर्चा गर्ने भए जनताको मुद्दामा गरौँ भनेर आफूले संसदमै प्रस्ताव गरेको पनि बताए। ‘नेपाली जनतालाई गुणस्तरी स्वास्थ्य, शिक्षा दिने कुरामा मोर्चा गरौँ भन्दा हामी पनि आउँछौं भनेर भनेको थिएँ,’ उनले भने।
पार्टी स्थापनाको एक वर्षको समीक्षा गर्दै जनताको विश्वास मतमा प्रकट भएको उनले बताए।
‘नागरिकको विश्वास मतमा बदलिन्छ भनेर हेक्काचाहिँ थिएन। नागरिकहरू परिवर्तनका लागि तयार छन्, घण्टी बजिसकेको छ,’ उनले भने, ‘आम नागरिकसम्म पुग्नुपर्ने छ। नीति, संगठनबारे बुझाउनुपर्नेछ। उपचुनावले केही बुझाएको छ तर धेरै ठाउँमा पुग्न बाँकी छ।’
उनले पार्टीले एक वर्षभित्र महाधिवेशन गर्ने पनि बताए।
उनले नागरिकको सुख–दुःख विकास निर्माणमा गासिँदै कानुन निर्माणमै सक्रियता देखाउने पनि बताए।
लामिछानेले नागरिकता पाउन योग्यहरू नागरिकताबाट बञ्चित हुन नहुनेमा पार्टी प्रष्ट रहेको बताए। तर, वैवाहिक अंगीकृतबारे छलफल गर्नुपर्ने उनको धारणा थियो।
‘जन्मसिद्ध नागरिकताबाट बञ्चित हुनुहुँदैन भनेर त मै वकालत गर्दै आइरहेको छु। महिलाको हकमा बाबुको ठेगाना नभएको अपमानजनक राखिएको छ यसलाई फेर्नुपर्छ भनेका हौं,’ उनले भने।
उनले राष्ट्रियता, भौगोलिक अखण्डताका पक्षमा सबै राजनीतिक दल एक ढिक्का हुनुपर्ने र सांस्कृतिक नक्सा, सीमा समस्या आउँदा कूटनीतिक नोटमार्फत् सरकारले धारणा राखिहाल्नुपर्ने पनि बताए।
रास्वपाले बिहीबार दिउँसो १ बजेदेखि चियापान कार्यक्रम आयोजना गरेको छ। चियापानमा प्रधानमन्त्री, मन्त्री, संसदमा प्रतिनिधित्व गर्ने सबै राजनीतिक दलमा शीर्ष पदाधिकारी, सांसदहरूलाई आमन्त्रण गरिएको पार्टीका केन्द्रीय सदस्य दीपक बोहराले जानकारी दिए।
त्यस्तै, उच्च पदस्थ सरकारी अधिकारी, सुरक्षा अंगका प्रमुखहरू नेपालस्थित कूटनीतिक नियोग प्रमुख, उद्योगी, व्यवसायीहरूलाई पनि चियापानका लागि निम्तो पठाइएको उनले बताए।