जनता समाजवादीका अध्यक्ष उपेन्द्र यादवले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बजेट सच्याउने प्रतिवद्धता व्यक्त गरेको बताएका छन्।
बिहीबार पार्टी कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष यादवले सरकारले ल्याएको बजेट न्यायोचित नभएकाले सुधार गर्नुपर्ने आफ्नो पार्टीको धारणा रहेको र त्यसमा प्रधानमन्त्री पनि सकारात्मक रहेको बताएका हुन्।
‘देशको चालु रहेका योजनाहरू समेतलाई अवरोध हुनेगरी ल्याइएको छ। यसलाई सुधार्नुपर्छ, सच्याउनुपर्छ भनेका छौं,’ उनले भने, ‘प्रधानमन्त्री ज्यूले पनि यसलाई सच्याउने नै भन्नुभएको हुनाले सच्चिएर अगाडि बढ्छ।’
अध्यक्ष यादवले अहिलेको बजेट एकलौटी ढंगले गठबन्धनमा रहेको दलहरूसँग छलफल नै नगरी ल्याइएको बताए। ‘बजेटले पूरै मधेस लगायत धेरै क्षेत्रलाई उपेक्षा गरेको छ। त्यसकारण यसलाई सच्याउनुपर्छ र सुधार गर्नुपर्छ भनेर हामीले भनेका छौं,’ उनले भने।
उनले यथास्थितिमा बजेट पास हुन कठिन रहेको पनि बताएका छन्।‘त्यसकारण सच्याउनुपर्छ भनेर मैले नै प्रधानमन्त्रीलाई भनेको हुँ र संसदबाट पनि बोलेको हुँ,’ उनले भने।