सुदूरपश्चिमका आन्तरिक मामिला तथा कानुनमन्त्री पृथ्वीबहादुर सिंह सवार गाडी दुर्घटनाका विषयमा सुदूरपश्चिम प्रदेश सरकारले छानबिन समिति गठन गरेको छ।
उक्त दुर्घटनाको विषयलाई छानबिन गर्न सुदूरपश्चिम सरकारले ६ सदस्यीय समिति गठन गरेको हो।
बिहीबारको मन्त्रिपरिषद्को बैठकबाट दुर्घटनाको छानबिनका लागि ६ सदस्यीय समिति गठन गरिएको सुदूरपश्चिम प्रदेश सरकारका प्रवक्ता तथा आर्थिक मामिला तथा कानुन मन्त्री नरेश शाहीले जानकारी दिए।
‘घटनाबारे छानबिनका लागि समिति गठन गरिएको छ, सोही अनुसार छानबिन अघि बढ्छ,’ उनले भने।
कार दुर्घटनामा निधन भएका मन्त्री सिंहको पार्थिव शरीरलाई गृह जिल्लामा शनिबार अन्त्येष्टि गरिने भएको छ।
बुधबार दिउँसो धनगढीको रंगशालामा मन्त्री सिंहको पार्थिव शरीरमाथि श्रद्धाञ्जली अर्पण गरिएको थियो।
कान्छा छोरा बझाङ पुगेपछि शनिबार सिंह दम्पती र उनकी भाउजू जयादेवी सिंहको दाहसंस्कार गरिने पारिवारिक स्रोतले जनाएको छ।
बुधबार सुदूरपश्चिम सरकारले मन्त्री सिंहको निधनप्रति शोकको घोषणा गरेको थियो।
मंगलबार दिउँसो २ बजे गृहजिल्ला बझाङ जाने क्रममा मन्त्री सवार सुपप्र ०१००१ झ ४८० नम्बरको कारमा सवार थिए। सोही क्रममा बझाङको केदारस्युँ गाउँपालिकाको धारछडानजिकै मन्त्री सवार उक्त कार दुर्घटना भएको थियो।
दुर्घटनामा मन्त्री सिंहकी पत्नी अमृता सिंह र भाउजू जयादेवी सिंहको स्थानीय देउरा प्राथमिक स्वास्थ्य केन्द्रमा उपचारका क्रममा निधन भएको थियो।
दुर्घटनामा गम्भीर घाइते भएका मन्त्री सिंहलाई नेपाली सेनाको हेलिकप्टरमार्फत कोहलपुर पुर्याइएको थियो। उनको उपचारका क्रममा कोहलपुर मेडिकल कलेजमा निधन भएको थियो।
घाइते भएका उनका पीएसओ सहायक प्रहरी हवल्दार दीपक भण्डारी र गाडी चालक धर्मराज जोशीलाई पनि हेलिकप्टरमै कोहलपुरमा लगी उपचार भइरहेको थियो।
उनीहरूको कोहलपुरमा उपचार सम्भव नभएपछि थप उपचारका लागि काठमाडौंको ट्रमा सेन्टर अस्पतालमा लगिएको जिल्ला प्रहरी कार्यालय बझाङका डिएसपी जागेश्वर भण्डारीले जानकारी दिए।
दुर्घटनाबारे प्रहरीले पनि अनुसन्धान अघि बढाएको उनले बताए।