उच्च अदालत पाटनले नागरिक उड्डयन प्राधिकरणले काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहलाई सोधेको स्पष्टीकरण कार्यान्वयन नगर्न अल्पकालीन अन्तरिम आदेश दिएको छ।
महानगरले तार काटेको भन्दै प्राधिकरणले मेयर शाहसँग स्पष्टीकरण सोधेपछि उनी उच्च अदालतमा रिट दायर गर्न पुगेका थिए।
न्यायाधीश धीरबहादुर चन्दको एकल इजलासले स्पष्टीकरण हाललाई कार्यान्वयन नगर्न अन्तरिम आदेश दिएको प्रवक्ता एवं उपरजिष्टार मन्दिरा शाहीले जानकारी दिइन्।
दुबै पक्षलाई असार १२ गते छलफलका लागि बोलाएको छ।
तार काटेको विषयमा प्राधिकरणले मेयर शाहलाई स्पष्टीकरण सोध्न नमिल्ने भन्दै उनले रिट हालेका हुन्। नेपाल नागरिक उड्डयन प्राधिकरणले असार १ गते मेयर शाहलाई स्पष्टीकरण सोधेको थियो।
काठमाडौं महानगरपालिका-९ स्थित विमानस्थल क्षेत्रमा प्राधिकरणलाई कुनै जानकारी नदिई महानगरपालिकाका नगर प्रहरीले फेन्सिङ तार काटेको थियो। त्यसपछि प्राधिकरणले मेयर शाहसँग स्पष्टीकरण सोधिएको थियो। उनलाई सात दिनभित्र लिखित स्पष्टीकरण बुझाउन भनिएको थियो।
प्राधिकरणका कर्मचारीले तार नकाट्न अनुरोध गरेता पनि नगर प्रमुखको आदेशबमोजिम आफूहरूले सो कार्य गरेको नगर प्रहरीले बताएको थियो।
प्राधिकरणले सोधेको स्पष्टिकरणमा भनिएको छ, ‘तपाईंलाई नेपाल नागरिक उड्डयन प्राधिकरण ऐन, २०५३ को दफा ७ को कसुरमा नेपाल नागरिक उड्डयन प्राधिकरण ऐन, २०५३ को दफा २५ (१) बमोजिम सजाय किन नगर्ने हो? यो पत्र प्राप्त भएको मितिले ७ दिनभित्र लिखित स्पष्टीकरण पेश गर्नुहुन प्राधिकरणको मिति २०८० / ०२ / ३२ को निर्णयानुसार जानकारी गराइन्छ।’
मेयर शाहले प्राधिकरणलाई स्पष्टीकरण भने बुझाएका छैनन्।