नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईले संयुक्त सरकार गठनको प्रस्ताव गरेका छन्।
पालैपालो कुर्सी साटासाटमा समय खेर फाल्नुसट्टा यो संसदको कार्यकालसम्म प्रमुख दलहरूको संयुक्त सरकार निर्माण गर्नुपर्ने उनको सुझाव छ।
‘गत आमचुनाव यताको नेपाली राजनीतिको दिशा र गति झन्नझन् उतारचढावपूर्ण बन्दै जानु देश र जनताको निम्ति हितकर छैन! विद्यमान निर्वाचन प्रणालीमा अन्तर्निहित अस्थिरता, दलका प्रमुख नेताहरूको अल्पदृष्टि र असीमित महत्त्वाकांक्षा, भूराजनीतिको निरन्तर दृश्य/अदृश्य दबाब, राज्यका स्थायी अंगहरूको क्षयीकरण/भ्रष्टीकरण आदि यसका प्रमुख कारण हुनसक्छन्,’ पूर्वप्रधानमन्त्री समेत रहेका उनले ट्विट्मार्फत् भनेका छन्, ‘यस्तो अवस्थामा पालैपालो कुर्सी साटासाटमा समय खेर फाल्नुसट्टा यो संसदको कार्यकालसम्म प्रमुख दलहरूको संयुक्त सरकार निर्माण, संविधान र कानुनमा आवश्यक सुधार, शान्ति प्रक्रियाका बाँकी कामको समापन गर्नु ठीक होला कि?’
उनले थप जटिल बन्दै गएको भूराजनीतिको कुशल व्यवस्थापन, जनसरोकारका तात्कालिक मुद्दाहरूको सम्बोधन गर्नु उपयुक्त विकल्प हुने बताएका छन्।
नत्र समयले कसैलाई नपर्खने उनको निचोड छ।